परीक्षा स्थगित गर्ने निर्णयले तराईमा ठूलो झडप, डिएसपी घाइते, प्रहरीको गाडी, मोटरसाइकल जलाइए

काठमाडौं, १६ चैत । प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक डिएसपीसहित पाँचजना घाइते भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार साँझ अबेर सिंहदरवार भित्रै पत्रकार सम्मेलन गरेर प्रदेश नम्बर २ को स्थगित गरेको थियो । मन्त्रालयको उक्त निर्णयका विरुद्ध तराईमा आक्रोश उत्पन्न भएपछि ठाउँठाउँमा झडप भएका हुन् ।

आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको ना १ झ ७१२ नम्वरको जीपमा आगजनी गरेका छन् । इप्रकाको भवनमा समेत तोडफोड गरेका छन् । विद्यार्थी तितर वितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दोहोरो झडपले जितपुरको अबस्था तनावग्रस्त बनेको छ । विद्यार्थीसँगै अभिभावक र पूर्व विद्यार्थीपनि प्रदर्शनमा उत्रिएका छन् । परीक्षा स्थगितको विरुद्ध चक्का जाम गर्न थालेका विद्यार्थीमाथी प्रहरीले लाठी चार्ज गरेपछि तनाव बढेको हो ।

बाराको जीतपुर र कलैयामा भएको छुट्टाछुट्टै झपडपमा परी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित पाँच प्रहरी घाइते भएका छन् ।

शनिवार बाराको जितपुरमा असन्तुष्ट बनेकाहरुले गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी डिएसपी शाही, सई अशोक कुर्मी, प्रहरी जवान निरु श्रेष्ठ सहित पाँच जना प्रहरी घाइते भएका हुन् । प्रहरीले आन्दोलनकारीहरुले डिएसपी शाहीमाथि ढुंगा प्रहार गरेर घाइते बनाएको जनाएको छ ।

बारामा आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका एक मोटरसाइकल जलाएका छन् । त्यसैगरी परीक्षार्थीहरुले जनकपुरसहितका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन् ।

यसैबीच सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

परीक्षा स्थगितको विरोधमा सप्तरीमा पनि विद्यार्थीले विहानदेखि प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै राजविराजमा टायर वालेर प्रदर्शन गरेका छन् ।

Loading...