प्रदेश सरकारले राजिनामा मागेपछि शिक्षामन्त्री पत्रकार सम्मेलन गर्दै, आउला त राजिनामा

काठमाडौं, १५ चैत । एसईई परीक्षाको प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिरिएपछि राजिनामा माग गरिएका शिक्षामन्त्री गिरिराजमणि पोखेरलले पत्रकार सम्मेलन आयोजना गरेका छन् । प्रदेश नम्बर २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले संघीय शिक्षामन्त्री पोखरेलको राजिनामा माग गरेको थियो ।

प्रदेश नम्बर २ मा लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएको घटना अहिले निकै चर्चामा छ । परीक्षा हुनुभन्दा केही घन्टा अगाडि नै सामाजिक सञ्जालमा समेत प्रश्नपत्र सार्वजनिक भएपछि दुबै विषयको परीक्षा स्थगित भएको छ । प्रश्नपत्रको सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका प्रवक्ताले समेत संघीय शिक्षा मन्त्री पोखरेलको राजिनामा मागेका थिए ।

सोही विषयमा मन्त्री पोखरेलले आफ्नो धारणा सार्वजनिक गर्न सिंहदरवारस्थित मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरेका छन । साँझ ७ बजे सिंहदरवारभित्र आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले के भन्नेहुन भन्ने मन्त्रालय स्रोतले खुलाउन चाहेन । दुई दुई वटा विषयको प्रश्नपत्र बाहिरएको र राजिनामा माग भएका कारण उनले राजिनामा नै दिन लागेका हुन भन्ने हल्ला पनि चलेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री पोखरेलले राजिनामा नै दिन लागेको नभई अब हुन बाँकी परीक्षा र स्थगित परीक्षाका बारेमा सुरक्षा प्रबन्धका बारेमा जानकारी गराउने बुझिएको छ ।

आजै मन्त्रालयमा सुरक्षा अधिकारीहरुसहित मन्त्रालयको बैठक बसेको थियो । उक्त बैठकमा प्रश्नपत्र कसरी बाहिरएको हो भन्ने बारे कुरा भएको थियो । बिहीबार परीक्षा सुरु हुनासाथ परीक्षार्थीबाट खोसिएको चिटमा प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार हुबहु उत्तरहरु पाइएपछि परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । त्यसैगरी शुक्रबार हुने सामाजिक अध्ययन विषयको प्रश्नपत्र राती नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

एसईईमा सबै प्रदेशका लागि फरक फरक प्रश्नपत्र गरिएको छ । प्रदेश २ अन्तर्गतका सबै जिल्लामा प्रश्नपत्र बाहिरएका दुबै विषयको परीक्षार्थीले परीक्षा दिइसकेका थिए । परीक्षा दिइसकेपछि परीक्षा स्थगित गरिएको हो । स्थगित गरिएको परीक्षा आगामी चैत्र २२ गते हुने बताइएको छ ।

यसैबीच प्रदेश २ को एसईई परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । ब्यूरोका डीएसपीको नेतृत्वमा अनुसन्धान टोली प्रदेश दुई पठाएर अनुसन्धान थालेको हो ।

Loading...