सप्तरीमा गोली चल्यो, ११ पक्राउ

सप्तरी । भूमिहीनहरूलाई बसोबास गराउने भन्दै सप्तरीको कञ्चनपुरमा भेला भएका नेसनश मंगोल अर्गनाइजेसनका कार्यकर्ता र प्रहरीबीच बुधबार झडप भएको छ।

भीड नियन्त्रण गर्ने क्रममा सप्तरी प्रहरीले १० राउन्ड अश्रुग्यास र लाठी चार्जसमेत गरेको छ। कञ्चनपुर नगरपालिका–१ स्थित कोसीटप्पुको मध्यवर्ती क्षेत्रमा अर्गनाइजेसनका १ नम्बर प्रदेश इञ्चार्ज शक्ति चाम्लिङ राईको नेतृत्वमा आएका झन्डै चार सय मानिसलाई लखेट्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो।

सप्तरी प्रहरीका अनुसार सो क्रममा राईसहित ११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–८ का मिस्टर राई, दुर्गा मगर, विक्रम राई, निरकुमार राई, सन्तोष राई, मिलन राई, बासुदेव राई।, खोटाङ खोटेहाङ गाउँपालिका–८ का नरेन्द्र राई, सप्तरी सप्तकोसी नगरपालिका–१ का मनबहादुर गुरुङ र चितवन राप्ती नगरपालिका–१२ का कृष्ण प्रजा रहेका छन्।

प्रहरीका अनुसार देशभरिका भूमिहीनलाई बस्ती बसाउने भन्दै राईको नेतृत्वमा मान्छे भेला भएका थिए। सूचना पाएलगत्तै कञ्चनपुर र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर सम्झाउन खोज्दा नमानेपछि बल प्रयोग गरिएको सप्तरी प्रहरीले जनायो।

मंगोल नेसनल अर्गनाइजेसन एउटा राजनीतिक दल हो। यसले संविधानसभा निर्वाचन २०७० मा भाग लिएको थियो। गत वर्षको संसदीय चुनावमा पनि सहभागी भएको दल हो। सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टका अनुसार उक्त दलले धादिङ, उदयपुर, सप्तरी, सोलुखुम्बु, संखुवासभा, झापा, मोरङ, सुनसरीलगायत जिल्लाबाट भूमिहीनहरूलाई जग्गा दिलाउने आश्वासन दिँदै कोसीटप्पु क्षेत्र ल्याएको थियो।

‘पैसा उठाएर तथा विभिन्न प्रलोभन पारेर जग्गा दिलाउने, धनीपूर्जा दिने भन्दै मान्छे ल्याएको पाइएको छ,’ विष्टले भने। पक्राउ परेकालाई हिरासत लिई अनुसन्धान थालिएको उनले बताए। मंगोल नेपालमा शान्ति प्रक्रिया सुरू भएसँगै विवादास्पद गतिविधिमा संलग्न हुँदै उदाएको दल हो। यसले मूलबासीहरूको हक र अधिकार भन्दै जातीय राजनीति गरिरहेको छ।

Loading...