प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने क्रान्तिकारीहरुलाई

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो । एकातिर गाउँमा सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो । बिचरा वकिल के गर्ने, के नगर्ने कुनै निर्णय लिन सकिरहेका थिएनन् ।

पतिको बेचैनी राम्ररी बुझेकी पत्नीले भनिन– ‘मेरो चिन्ता नलिनुस् । छिटै शहर गएर बहस थाल्नुस् । कुनै निर्दोष मान्छेलाई बिना कसुर सजाय भयो भने त्यो अपराधको भागीदार हामी दुवै हुनेछौं ।’

पत्नीको सल्लाह मानेर उनी शहर पुगेर बहस गरे । अदालतमा बहस चलिरहेको बेला उनलाई कसैले एउटा चिठी दियो । खर्रर्र चिठी पढेर खल्तीमा राखे । अनि फेरि बहस थाले । उनको पक्षमा फैसला भयो । एउटा निर्दोष ब्यक्तिलाई बिना कसुर सजाय हुनबाट जोगाएको खुसीमा अदालतको माहोल अविरजात्रामा परिणत भयो । सहकर्मी वकिलहरुले बधाई दिए । यसैबीच एउटा साथीले बहस गर्दागर्दै पाएको चिठीको विषयमा जिज्ञासा राखे । वकिलले खल्तीबाट निकालेर त्यो पत्र पढ्न दिए । चिठी हेरेका साथीको आँखामा उदासी, सहानुभूति र आँशुका थोपा थिए । त्यो चिठी वकिलकी पत्नीको मृत्यु खबर बोकेर आएको थियो ।

साथीहरुले हैरान हुँदै प्रश्न गरे– ‘किन त्यस्तो सिकिस्त बिरामी पत्नी छोडेर बहस गर्न आएको ?’ जवाफमा भने– ‘म उनैको आग्रहमा आएको हुँ । कुनै निर्दोषलाई बचाउनुभन्दा ठूलो धर्म छैन भन्ने उनको विश्वास पालना गर्न म आँसु पिएर बाँचेको हुँ ।’ तिनी थिए– भारतका सुप्रसिद्ध वकिल सरदार बल्लभ भाइ पटेल । यही कर्तव्य र निष्ठाका कारण भारतमा ‘लौह पुरुष’ उपमाको प्रसिद्धि पाएका छन् ।

महाभारतमा भनिएको छ– ‘सत्य बोल प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय छ भनेर असत्य पनि नबोल ।’ सत्य भनेको इच्छा हो । आग्रह भए ठाउँमा सत्य आउँदैन । आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निसृत हुन्छ । जिब्रोभरि नून लिएर तिउन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना सजिलो नभएपनि असम्भव पक्कै छैन । सत्य मान्छेपिच्छे फरक हुँदैन । पटमूर्खहरु अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरुको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्य मात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ ।

हनुमान आफैमा धेरै बलशाली थिए । एकपटक त्यही बलको घमण्डका कारण सूर्य निल्ने दुस्साहस गरे । यो खबर देवलोकमा पुगेपछि देवताहरुको अपर्झट आपतकालीन बैठक बस्यो । हनुमानले सूर्य नै निले भने त अनिष्ट निम्तिने भो ! देवताहरुको बैठकले हनुमानको घमण्ड निस्तेज गर्ने उपाय निकाल्यो । बैठकको निष्कर्ष थियो– ‘आइन्दा हनुमानलाई कसैले उनको शक्तिका बारेमा सम्झाएपछि मात्र आफ्नो शक्तिको ख्याल हुने अवस्था सृजना गरिदिने ।’ देवताहरुले हनुमानभित्रको विवेकको ढोका बन्द गरिदिएपछि उनको सामथ्र्य एक प्रकारले निर्देशित बन्न पुगेको थियो ।

सम्भवतः यो अघोषित श्राप हाम्रा नेताहरुमा पनि परेको छ । जब यो देशमा पञ्चायत थियो, यिनै नेताहरु भन्थे– हातमा नेल ठोकिएका छन् र पो ! पञ्चायत गएर बहुदल आयो । त्यसपछि पनि यिनीहरुको घैंटोमा घाम लागेन् । सत्तालाई मापदण्ड बनाएर भुट्भुटिन कहिल्यै छोडेनन् । राजनीतिका नाममा कांग्रेस र एमालेको दन्तबजानका कारण केही वर्षभित्रै जुन प्रवृत्ति विरुद्ध तीन दशक आन्दोलन गरिएको थियो, तिनै पञ्चहरु राजनीतिको चुलो चौकामा पु¥याइए । सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई नेता मानेर कांग्रेस, एमाले लाचारीपूर्वक सरकारमा गए । एकातिर यस्तो दृश्य देखिन थाल्यो भने अर्कातिर नेपाली राजनीतिका भीष्म पितामह मानिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरु तासको जोक्कर जस्तो फाल्टो हुँदै गए । नवप्रवेशी चैतेहरुको पार्टीमा हालीमुहाली बढ्न थाल्यो । यी सवै दृश्य हेरिरहेको माओवादीले जातीय, क्षेत्रीय, शोषण, दमनको मुद्दा उठाएर वितण्डाको विष घोलिदियो । त्यो वितण्डालाई ठीक ठाउँमा ल्याउने नैतिक सामथ्र्य सरकारमा रहेन् । आखिर ठट्टाठट्टैमा आतंकको ज्वालाले देश तहसनहस् भयो । विधिमा चल्नुपर्ने सिंहदरवार त सच्चिएन भने आतंकलाई हतियार बनाउनेहरुबाट विवेकी निर्णयको अपेक्षा गर्नु आफैमा सुल्टो कर्म नहुने पक्का थियो ।

हजारौंको बलिदानपछि देशले अनपेक्षित युटर्न ग¥यो । त्यसपछिको राजनीतिक कोर्सले राजाका कारण देश उँभो नलागेको निष्कर्ष निकाल्यो । जनताले पनि हो मा हो मिलाइदिए । राजा फालिए । गणतन्त्र आयो । तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो । यतिले पनि नपुगेपछि देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौं ठूला मानिस जन्माइएको छ । ती ठूला मानिसको व्यवस्थापन फलामको चिउरा बन्दै गएको छ । नीतिहरुको राजा मानिने राजनीतिमा कुखुरा चोर, बारमासे जुवाडे, गाउँका जाली फटाहाहरुको राजनीतिमा बिगबिगी बढ्यो । मानवीय कर्म नभएर जातजाति, धर्म संस्कृतिलाई राजनीतिको गोटी बनाइयो । हिमालमा बसोबास गर्नेले तराईमा जन्मिएका गौतम बुद्ध र तराईमा रहेकाहरुले हिमालमा रहने महादेवको पूजा अर्चना गर्ने प्राकृतिक सन्तुलनमा धावा बोल्न खोजियो । कार्पेटमाथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो । राज्यको गाडी चालक हैन, खलाँसीले हाँक्न खोजे । देश घाँस, चोक्कर नदिने तर लाम्टा मात्र लुछ्ने गौमाता जस्तो बन्दै गयो । देशभरि प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने प्रचण्डपथको क्रान्तिकारी चरित्र लोकमानसिंह, रमेशनाथ पाण्डे, अजय सुमार्गी जस्ता पात्रलाई सल्लाहकार बनाएपछि खरानी भयो । देशका जनता त के ढुंगा माटो समेत माओवादी भएको घमण्ड पालेका प्रचण्डको नैतिक बल सकिएपछि पछिल्लो समय कुम हल्लाउने, तेल, जेलमा रमाउने बाहेक माथि उठ्न सकेन् । उनका हरेक कर्ममा पाखण्ड देखिन थाल्यो ।

सिंहदरवार जनताको हित गर्ने पवित्र भूमि नभएर लुट मच्चाउने अखडा बन्न पुग्यो । माओवादीहरुको शहर प्रवेश स्यालले कुखुरा झम्टिएभन्दा पर हुन सकेन् । माओवादी लहैलहैमा लागेर राजनीतिको झिटीगुन्टा समेत उसैलाई बुझाएका कांग्रेस, एमालेका नेता चिमोट्दा पनि ऐया भन्न नसक्ने अवस्थामा पुगे । आफ्नो पार्टी के हो र आफू के गर्दैछु भन्ने सामान्य हेक्का पनि उनीहरुलाई भएन् । आखिर चित परेपनि पोट परेपनि माओवादी देशैभर भाले भयो । दोस्रो जनआन्दोलनको म्यान्डेट भनेको देश माओवादी र मधेशबादी नामका दुई अवसरवादीलाई जिम्मा लगाउनु र अरु चाहिँ रमिते हुनु हो भन्ने अघोषित बुझाई समाजमा स्थापित भयो । रुकुम, रोल्पालाई राजनीतिको चारधाम मान्ने तिनै पार्टीका नेताहरु काठमाडौको रैथानेमा परिणत भएको नाटकका पात्र बनेपछि आफ्नै उद्गमस्थलबाट माओवादी विरानो बन्दै गयो । सत्ता पाए अंगुर, नपाए लंगुर हुने प्रवृत्ति राजनीतिमा हावी भयो ।

जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानी मध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि उ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस । अनि सिर्कनोले तिघ्राबाट छर्छरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति । मुलुकमा हुने गरेका परिवर्तनको प्राप्ति यो सत्य भन्दा पर हुने अवस्था नै रहेन । अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरु नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डो¥याउने त हो ।

Loading...