कतै तपाइँलाई महत्व नलाग्ने सूचना आपराधिक गतिविधिका त होइनन्

काठमाडौँ, १३ चैत । समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको सहकार्यमा मात्रै आपराधिक घटना न्यूनीकरण हुने विश्वास छ । “तपाइँहरुलाई महत्व नलागेका सूचना कतै आपराधिक क्रियाकलाप गर्ने उद्देश्यले त प्रेरित छैनन्, त्यस्ता महत्वहीन सूचना हामीलाई दिनुहोस्, हामी त्यसको पनि अनुसन्धान गर्छौं”, क्षेत्रीले समुदायलाई लक्षित गर्दै भनेका छन ।

समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न महानगरीय प्रहरी परिसर काठमाडौँले समुदायसँग मिलेर आजदेखि शुरु गरेको घरदैलो अभियानका क्रममा उनले स्थानीयवासीसँग कुनै शङ्कास्पद गतिविधि भएको देखिएमा प्रहरीलाई खबर गर्न अनुरोधसमेत गरेका छन ।

समुदायसँग सहकार्य गरी सूचना सङ्कलन गर्ने लक्ष्यसहित काठमाडौँका सबै स्थानीयतहमा आजदेखि एकैसाथ ‘घरदैलो’ अभियान थालिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री घरघरमा वितरण र टाँस गर्दै समुदायसँग सम्बन्ध विस्तार गर्न उक्त अभियान थालिएको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु भएको घरदैलो कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका आठ लाख बढी घरमा पुगेर सचेतनाका विषय उल्लेख गरिएको स्टिकर टाँस गर्न थालिएको जानकारी दिए । समुदायको सहयोगमा मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुरका दिनेशमान जोशीको घरमा स्टिकर वितरण गरेर अभियानको थालनी भएको घोषणा गरे । घरभित्र सबैको पहुँच पुग्ने स्थानमा टाँस गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरेका छन । “यो अभियान नितान्त सुरक्षा कायम गर्नका लागि हो, कुनै कर उठाउनका लागि होइन, तपाइँहरुले सहजरूपमा सूचना दिनुहोस्, जसले ठूला घटना रोक्न सहयोग गर्छ”, शाक्यले समुदायसँग भने ।

घरदैलोसँगै प्रहरीले समुदायसँग मिलेर सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले सबै जनप्रतिनिधिलाई कार्यक्रममा सरिक गराउन सके थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन । घरदैलो कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले काठमाडौँका हरेक स्थानीय तहमा आज एकैसाथ घरदैलो अभियान चलाइएको जानकारी दिँदै तीन महीनासम्म चल्ने अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन । आवश्यक परे अभियानलाई थप गर्न सकिने श्रेष्ठको भनाइ थियो ।

Loading...