छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडीधनीलाई सास्ती

वीरगञ्ज, १३ चैत । वि आर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन ।

नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ लाग्छन् । यो समस्या अभिशेषलाई मात्र होइन, सो नाकाबाट नेपाल भित्रिने सबै भारतीय नम्बर प्लेटका गाडीधनीलाई हुने गरेको छ । भिष्वा छोटी भन्सार कार्यालयमा भारतीय सवारी साधनलाई नेपाल भित्रिँदा छुटपुर्जी दिने व्यवस्था नहुँदा विगत लामो समयदेखि भारतीय सवारीधनीले यस्तै समस्या भोग्दै आएका छन् ।

सीमावर्ती भारतको सिकटा, भेलाही लगायतका ठाउँबाट दैनिक नेपाल भित्रिने दर्जनौँ भारतीय नम्बर प्लेटका सवारी साधनलाई भिष्वा छोटी भन्सार कार्यालयमा छुटपूर्जीको व्यवस्था नहँुदा ४० किलो मिटरको लामो यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता रहेको विआर २२ एस ७५५२ नम्बरका चालक सरताज अहमदको गुनासो छ ।

सीमावर्ती भारतबाट अहिले दैनिक २० देखि २५ भारतीय सवारी साधन पर्साको ग्रामीण क्षेत्रमा भित्रिन्छन् । प्रहरी चौकी भिष्वाका प्रहरी नायब निरीक्षक विजयकुमार साहीले राससलाई भन्नुभयो, “नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई व्यावहारिक रूपमा ‘इन्ट्री’ गरेर जानदिने गरिएको छ ।”

छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काटने अधिकार नभएकाले भारतका ग्रामीण नाकाबाट नेपाल भित्रिने भारतीय सवारी साधनलाई सीमाक्षेत्रका प्रहरीले रोक्ने, जथाभावी रकम लिने तथा गाडी जफत गर्ने जस्ता समस्या भोग्दै आएको भारतीय चालक सैजुलहकको गुनासो छ ।

वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी मनिषकुमार महतोले छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काट्ने अधिकार नेपाल सरकारले नदिएकाले यस्तो समस्या आएको बताए ।

नेपाल भारतबीच रहेको खुला सीमाका कारण छोटी भन्सार कार्यालयमा छुटपुर्जीको व्यवस्था नहुँदा एकातिर सरकारी राजश्व गुम्दै गएको छ भने अर्कोतिर ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरी नहुँदा बिनाकागजपत्रका भारतीय गाडीहरु निर्वाधरूपमा नेपाल प्रवेश गर्ने तथा मोटरसाइकलमा चार जनासम्म बसेर यात्रा गर्ने जस्ता कार्यले दुर्घटनाको सम्भावना बढेर गएको स्थानीय बताउँछन् ।

ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयमा कर्मचारीको दरबन्दी रहेपनि कर्मचारी नबस्दा भारतीय सवारीधनीले मनपरीरूपमा नेपाल प्रवेश गर्ने गरेका छन् । छुटपुर्जीका लागि वीरगञ्जसम्म पुग्दा खर्चिलो हुने गरेकाले नेपाल सरकारले छोटी भन्सारमै छुटपुर्जीको व्यवस्था गर्नुपर्ने माग भारतीय सवारीधनीहरुको छ ।

Loading...