१० हजार शिक्षकलाई विदा दिन सरकारले ५ सय २५ करोड रकम छुट्यायो

काठमाडाैं । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा अनुतीर्ण भएका करिब १० हजार अस्थायी शिक्षकलाई सरकारले विदाइ गर्ने भएकाे छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि बढाइएको जानकारी दिएका छन् । करिव १० हजार शिक्षक विदाइ गर्नका लागि सरकारले पाँच अर्ब २५ करोड रुपैयाँ समेत छुट्याइसकेको छ। आगामी असार मसान्तपछि अायाेगकाे परीक्षामा फेल भएका अस्थायी शिक्षकलाई विदाई गरिने महानिर्देशक पौडेलले जानकारी दिए।

हाल देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग छन् । सरकारले केही समयअघि गठन गरेको कार्यदलले अपुग शिक्षकको तथ्यांक संकलन गरेको थियो।

अपुग शिक्षकको तथ्याङ्कसहितको प्रतिवेदन कार्यदलले मन्त्रिपरिषद्मा बुझाइसकेको छ। शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार भने ३४ हजार ४०८ शिक्षक अपुग देखिएको महानिर्देशक पौडेलले जानकारी दिए। मन्त्रिपरिषद्ले निर्णयपछि शिक्षक पदस्थापन र दरबन्दी मिलान गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

Loading...