भिजिट नेपाल २०२० को प्रचार गर्न स्कटल्याण्डमा हिल वाक

स्कटल्याण्ड । भिजिट नेपाल २०२० को प्रचारका लागि एनआरएनए स्कटल्याण्ड राष्ट्रिय समन्वय समितिले हिल वाक इभेन्ट सम्पन्न गरेको छ । स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार याे इभेन्ट सम्पन्न गरेकाे हाे ।

स्कटल्याण्डमा रहेका करिब एक सय जना भन्दा बढी नेपालीहरुकाे सहभागिता रहेको एनआरएनए स्कटल्याण्डले नयाँ तरिकाको हिल वाक इभेन्ट सम्पन्न गरेकाे हाे । एनआरएनएप्रति सचेतना जगाएउन याे इभेन्ट आयाेजना गरिएकाे एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।

“एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन बिस्तारमा सहयोग पुगेको छ ।” अध्यक्ष कार्कीले बताए । हिल वाक इभेन्टबाट संघले स्थापना गरेकाे सहायता कोषमा सहयोग समेत संकलन भएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले सहयोग संकलन हुने क्रम अझै जारी रहेको बताए । कोषमा संकलित रकम आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने उनले बताए ।

हिल वाक शुरु हुनु भन्दा पहिले एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो। एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट समेत सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ। उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रायोजन गरेको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यवसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारका लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको कार्कीले बताए ।

Loading...