इकाई प्रमुख पौड्यालमाथि काँग्रेसले कालोमोसो दलेपछि पोख्रेलले भने, ‘गुण्डागर्दी भयो’

शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख अनन्त कुमार पौड्यालमाथि कालो मोसो दलिएको घटनाप्रति नेपाल निजामति कर्मचारी संगठनको शिक्षा विभागीय समितिले खेद प्रकट गरेको छ । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले पौड्याललाई कार्यकक्षमै गएर कालोमोसो दलेपछि शिक्षा विभागीय समितिका अध्यक्ष शिवराज पोख्रेलले प्रेस विज्ञप्ति मार्फत खेद प्रकट गरेका हुन् ।

अध्यक्ष पोख्रेलले कर्मचारी स्थायी सरकार भएको जिकिर गर्दै यस्ता घटनाले कर्मचारीको मनोबल घट्ने भन्दै दोषीमाथि कारवाहीको माग समेत गरेका छन । ” कार्यालय भित्र कार्यकक्षमै प्रवेश गरी गुण्डागर्दी शैलीमा अमर्यादित व्यवहार गर्ने व्यक्ति/ समुह उपर कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।” बिज्ञप्तिमा भनिएको छ ।

हेर्नुस बिज्ञप्ति

यता नेविसंघले भने इकाई प्रमुख पौड्यालमाथि विभिन्न अनियमिताका ९ बुँदे आरोप लगाएको छ । पौड्यालले योजनाहरुमा १० प्रतिशत कमिशन खाने गरेको, पैसा खाएर करार शिक्षक नियुक्ती गर्ने गरेको,एसइइका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता र क्षमताको आधारमा नभइ राजनीतिक कोटाका आधारमा गरेको लगायतका आरोप नेविसंघको छ । नेविसंघले प्रेस विज्ञप्ति नै निकालेर कालो मोसो दलेको हो ।

हेर्नुस बिज्ञप्ति

 

करिब १:३० बजेको समयमा ८/१० जनाको समूहले इकाई प्रमूख पौड्याललाइ कार्यकक्षमै पुगेर कालोमोसो दलेको थियो । कालो मोसो दल्ने कार्यमा नेविसंघका कार्यकर्ता परिचालित भएको इकाई प्रमुख पौडेलले बताए । आफूमाथि लगाइएका सबै आरोप आधारहीन भएको भन्दै उनले शिक्षकका केहि नेताहरुको योजनामा घटना भएको दावी गरे ।” शिक्षक खटनपटनका अधिकार स्थानीय सरकारसंग छ , केन्द्राध्यक्षको बिषयमा केन्द्रित भएर उक्साहटमा मलाई अनाहकमा अभद्र व्यवहार भएको हो ।” उनले भने । इकाई प्रमुख पौडेलले आफुमाथि अनावश्यक आरोप लगाई आफ्नो मानहानी गरिएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

पौडेलको कार्यकक्षमै पुगेर कालोमोसो दल्नेहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए ।

Loading...