यसवर्षको एसईईका रोचक तथ्यः नायिकादेखि सांसदसम्म परीक्षा दिँदै

काठमाडौँ । आइतबारबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिएका छन् ।

संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष प्रदेशका आधारमा शुरु भएको हो । चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका बोर्डले जनाएको छ ।

दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी भएका बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका बोर्डले जनाएको छ ।

मुलुक संघीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ भने परीक्षाफल प्रकाशित भने बोर्डले गर्नेछ । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेको पौडेलले स्पष्ट पारे ।

‘गतवर्ष चार प्रकारका प्रश्न सोधिएको भएपनि यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।’ अध्यक्ष पौडेलले भने ।

गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए ।

परीक्षाका रोचक तथ्यः नायिकादेखि सांसदसम्म

यसपटककाे एसइइ परीक्षामा चर्चित नायिकादेखि सांसदहरू समेत सहभागी भएका छन् । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । 

परीक्षार्थीहरू स्कूले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन्। परीक्षा नियन्त्रण कार्यालयसँग एसईई दिने पाको उमेरकाको संख्या भने यकिन छैन।

चर्चित अभिनेत्री करिष्मा मानन्धरले पनि एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।

नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।

छोरीसँगै सांसद चौधरीको एसईई

राष्ट्रियसभा सदस्य शान्ता चौधरी पनि कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसईईको परिक्षा दिएकी छन् । नेकपाकी सचेतक समेत रहेकी चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी हुन् ।

खुला विद्यालय प्रणालीमा पढेकी चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसईईको परीक्षा दिएकी हुन् । चौधरी महेन्द्रमावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् ।

सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले पनि एसइई परिक्षा दिएकी छन् । विनुले काठमाडौंको आरुवारीस्थित सिर्जना बाल बोर्डिङबाट परिक्षा दिएकी हुन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् ।

पढाई छाडेको ३५ वर्षपछि एसईई दिँदै वडाध्यक्ष

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका – ८ राम्चेका वडाअध्यक्षले पढाई छाडेको ३५ वर्षपछि एसईई परीक्षा दिएका छन् । वडाध्यक्ष खमबहादुर गर्बुजासहित तीनजना जनप्रतिनिधि एसईईमा सहभागि भएका हुन् ।

५० वर्षीय वडाअध्यक्ष गर्बुजा २०४४ को एसएलसीमा गणित विषय लागेर फेल भएका थिए । उनी भन्छन्, ‘शैक्षिक योग्यता बढाउन एसईई परीक्षामा सहभागी भएको हुँ ।’

यस्तै वडा सदस्य गेममाया पुन (राममाया) र देवकुमारी खोरजाले पनि बेनीको प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसईई परीक्षा दिएका छन् ।

घरबाटै एसईई दिँदै अर्की करिश्मा

बैतडी जिल्लाको देहीमाडौंकी एक छात्राले आजबाट सुरु भएको एसईई परीक्षा घरबाटै दिएकी छन् । करिश्मा बोहराले घरबाटै एसईई परीक्षा दिएकी हुन् ।

अपांगता भएका कारण मणिलेक मावि गुरुखोलामा परेको केन्द्रसम्म पुग्न नसक्ने भएपछि करिश्मालाई घरबाटै एसईई परीक्षा दिने व्यवस्था मिलाइएको हो । आवतजावतमा समस्या हुने भएकाले करिश्माका लागि घरबाटै परीक्षा दिने व्यवस्था मिलाएपछि उनी घरबाटै दिन पाउँदा खुसी छिन् ।

उनको परीक्षाका लागि एकजना निरीक्षक र एकजना सुरक्षाकर्मीको व्यवस्था परिचालन गरिएको छ ।

औपचारिकबाट औपचारिक शिक्षाप्रति नायिका मानन्धर र सांसद चौधरीजस्ता व्यक्तिले देखाएको लगाव प्रेरणादायी प्रसंगका रूपमा लिनुपर्ने शिक्षाविद् औंल्याउँछन्। ‘नायिका करिष्मा मानन्धरले कक्षा ८ बाट अध्ययन गर्नुपर्ने, ६० वर्षको पाको व्यक्ति कक्षा १ बाट पढ्नुपर्ने दृष्टान्त छ,’ बेलायतमा रहेका साहित्यकार विश्वासदीप तिगेलाले फेसबुक वालमा लेखेका छन्, ‘त्यो प्रेरणादायी कुरा त हुँदै हो, तर अन्य मुलुकमा बढी उमेरका, धेरै अनुभव लिइसकेकालाई एकैपटक ब्रिज कोर्स गराएर माथिल्लो तहमा अध्ययनको सुविधा हुन्छ। नेपाल सरकारले कहिले थाहा पाउने होला?’

शिक्षाविद् विद्यानाथ कोइराला विद्यालय शिक्षा नियमित र खुलाबाट पढ्न पाउने नीति भए पनि पाको उमेरलाई लक्षित ब्रिजकोर्स अहिलेसम्म नेपालमा नभएको बताउँछन्। ‘बालबालिकालाई उमेर बढेसँगै पढ्ने र पढाउने स्कुल छन्, पाको उमेरका मानिसले अनौपचारिक मोडबाट मात्र शिक्षा हासिल गर्न सक्ने अवस्था छ,’ उनले भने, ‘एउटै स्कुलले औपचारिक र खुलाबाट पढाइ सञ्चालन गर्ने नीति छैन। यो व्यवस्था हुनुपर्छ। जसमा पठनपाठन छुट्टाछुट्टै भए पनि जाँच एउटै लिने प्रणाली बन्नुपर्छ।’

सरकारको नीतिअनुसार अहिले कक्षा १-३, कक्षा १-५, कक्षा ६-८ र कक्षा ९-१० को अनौपचारिक शिक्षा प्याकेज छ। यो प्याकेज क्षेत्रगत रूपमा कोटाका आधारमा छुट्याइएको छ। कक्षा ११ र १२ को अनौपचारिक शिक्षाको पाठ्यक्रम प्याकेज बनाउन बाँकी रहेको उनले उल्लेख गरे। कक्षा १२ सम्म विद्यालय शिक्षा मानिन्छ। त्यसभन्दा माथि विश्वविद्यालय शिक्षा लागू हुन्छ। यसै वर्षबाट नेपालमा खुला विश्वविद्यालय सुचारु रहेकाले १२ कक्षा वा सोसरहको शिक्षा हासिल गरेकाले खुला मोडबाट उच्च शिक्षा हासिल गर्न सक्छन् ।

Loading...