क्षयरोगसम्बन्धी स्वास्थ्य सर्वेक्षण शिविर शुरु

भद्रपुर, १० चैत । मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य प्रिभ्यालेन्स सर्वेक्षण अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी जाँच शुरु गरेको हो ।

वडा अध्यक्ष गोपाल खड्काका अनुसार, यस टोलमा १५ वर्षमाथिका ६०६ जना रहेका छन् । ती सबैजनालाई क्षयरोगको जाँच गर्न शिविरको आयोजनाा गरिएको छ । स्थानीय मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा राष्ट्रिय क्षयरोग केन्द्रले खडा गरेको सर्वेक्षण शिविरमा बिहानैदेखि स्वास्थ्य परीक्षणका लागि सर्वसाधारणको घुइँचो लागेको छ ।

केन्द्रका फिल्ड व्यवस्थापक केशवराज पाण्डेले उपचारको दायरामा नआइरहेका क्षयरोगका बिरामी कति छन् र तिनलाई कसरी समेट्ने भन्ने राष्ट्रिय रणनीति बनाउन झापाको तीन ठाउँसहित मुलुकभर ५५ जिल्लाको ९९ क्लस्टरमा सर्वेक्षण कार्य भइरहेको बताएका छन । झापाको टाघनडुब्बा, शनिश्चरे र मेचीनगरमा सर्वेक्षण कार्य गरिएको हो । टाघनडुब्बामा ६०० र शनिश्चरेमा ६०० जनाको सर्वेक्षण पूरा भइसकेको उनले जानकारी दिए । सर्वेक्षण टोलीमा दुई चिकित्सक, दुई रेडियोग्राफर, दुई ल्याब टेक्निसियन, तीन स्टाफ नर्ससहित २५ जना कर्मचारी परिचालन भएका छन् ।

टोलीले क्षयरोग परीक्षणका लागि डिजिटल एक्स–रे मेशिन, कम्प्युटर, खकार र रगत जाँच्ने ल्याबसहित सूचना प्रविधिको अत्याधुनिक साधन प्रयोगमा ल्याउने गरेको छ । सर्वेक्षणमा परेका टोलवासीलाई शिविरमै सम्पूर्ण जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

नेपालमा क्षयरोग उन्मूलनका लागि अभियान थालिएको आधा शतक पूरा भइसक्दा पनि रोग निर्मूल हुन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्षेनी ४२ देखि ४५ हजारसम्म क्षयरोगका बिरामी थपिने गरेको जनाउँदै आएको छ । तर तीमध्ये ३० देखि ३२ हजार बिरामी मात्र उपचारको दायरामा आउने गरेका छन् ।

राष्ट्रिय सर्वेक्षणबाट प्राप्त तथ्याङ्कका आधारमा उपचारको दायरामा नआएका १० देखि १२ हजार क्षयरोगीलाई समेट्न प्रभावकारी रणनीति तर्जुमा गरिने केन्द्रका फिल्ड व्यवस्थापक पाण्डे बताए ।

सर्वेक्षणमा खटिएका टोलीले केही दिनअघि नै मेचीनगर–९ को फारामटोलको घरघरै पुगेर ६०६ जनालाई सर्वेक्षणमा सहभागिताको परिचयपत्र प्रदान गरिसकेको थियो ।

Loading...