अबको ५ वर्षमा नेपालमा सुरुङ युग सुरु हुने प्रधानमन्त्रीको घोषणा

प्रम ओली भन्छन, “कोदालोले खनेरै भए पनि सुरुङ बनाइ छाड्छौ‌”

बुटवल, १० चैत । विजुली बस, रेल, पानीजहाजपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुरुङ मार्गमा लाने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले वि.सं.२०८० अर्थात अबको करिव ४ वर्षपछि नेपालमा सुरुङ युग आउने घोषणा गरेका छन् ।

बुटवलमा शुक्रबार दुई ठुला आयोजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले २०७५ देखि २०८० सम्म सडक युग र त्यसपछि सुरुङ युग आउने घोषणा गरेका हुन् । शुक्रबार प्रम ओलीले बुटवल–नारायणगढ ४ लेन सडक शिलान्यास तथा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुभारम्भ गरेका थिए।

आयोजनाको उद्घाटन गर्दै प्रम ओलीले भने, “अब शुरु भो, अघि बढ्यो कसैले रोकेर रोकिन्न, ७५ देखि ८० सम्म सडक युग, ८० देखि सुरुङ युग शुरु हुन्छ ।’ सो क्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै भने आयोजनामा छैन भने त्यसमा संशोधन गर्नुस् भैरहवा —लुम्बिनी—तौलीहवा सडक पनि नमूना बन्नेछ ।’
सो क्रममा प्रधानमन्त्री ओलीले विस २०७५÷८० लाई सडक युग र २०८० देखि ०८५ लाई सुरुङ युगको रुपमा विकासमा छलाङ मार्ने योजना सुनाए। कोदालाले खनेर सडक र सुरुङ्ग निर्माण गर्न सक्ने क्षमता र शक्ति नेपालीसँग रहेको उनको दावी थियो ।

सडकका लागि निर्माण सामग्री अभाव हुन नदिने पनि उनले बताए । उनले थपे, ‘वाताबरणको सुरक्षा पनि होस् गिट्टी बालुवा पनि निकालौं, नेपालमा पनि ढुंगा गिट्टीको अभाव हुन्छ ? डाँडाकाँडा काटेर पनि निकालिन्छ चिन्ता नलिऔं । अब सिद्धबाबाका बारेमा धेरै गीत गाइरहन पर्दैन ।’

प्रम ओलीले त्यस क्रममा पूर्व पश्चिम रेल मार्गको कुरा पनि छुटाएनन् । उनले रेलमार्ग पनि छिट्टै बन्ने ठोकुवा गरे । गौतमबुद्ध जन्मस्थललाई लुम्बिनी जस्तै पवित्र र स्वच्छ बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी ओलीले अब देशमा अशान्ति र बितण्डाको युग समाप्त भएको पनि घोषणा गरे । अहिले मुलुकमा बिखण्डन र अशान्तिको समस्या नरहेको भन्दै देश सुशासन र विकासतर्फ अगाडि बढिसकेको दावी पनि गरे।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै उनले अशान्ति र बितण्डा मच्चाउनेलाई धेरै सम्झाउँदा पनि नमानेकाले प्रतिबन्ध लगाइएको र सरकारलाई नटेरे कानुन बमोजिम कारबाही गर्ने बताए।

उनले पहिलेकै जस्तै कडिकडाउँ भाषामा भने, ‘अब देशमा बम पडकाउन, उत्पात मच्चाउन पाइँदैन। त्यसलाई प्रतिबन्ध लगाइएको छ। यदि कसैले टेरेन भने कानुन बमोजिम कारबाही हुन्छ। सबैले यो कुरा बुझे हुन्छ ।’ उनले विध्वंशकारी गतिविधि गर्ने धुन्दुकारीलाई निमिट्यान्न पारेर डरत्रास मुक्त वातावरण निर्माण गर्ने घोषणा पनि गरे।

सो क्रममा प्रम ओली संचारमाध्यम र बुद्धिजिवीहरुमाथि पनि खनिए । उनले केही सञ्चारमाध्यम र बुद्धिजीवीहरु समेत वातावरण धमिल्याउन प्रयोग गरिएको आरोप लगाए । उनीहरुलाई सरकारको बिरोधमा उतारिएको आरोप पनि प्रम ओलीले लगाए ।

उनले भने, ‘कोही कोही विमानस्थल बने पनि बर्बादै भयो भन्दै छन, बाटो चौडा भए पनि लौ बाबार्द भो भन्छन। हिंसात्मक गतिविधि नियन्त्रण गर्दा झनै बबार्दै भो भनेर कराउँछन। बुद्धिजिवी हुँ भन्नेहरु बुरुक्क बुरुक्क उर्फन्छन ।’

यसअघिको सरकारले कुनै काम गर्न नसकेको र बर्तमान सरकारका कामप्रति अहिले रोइलो गरिरहेको दावी गर्दै ओलीले भने, ‘मलुकमा दिगो शान्ति र चौतर्फी विकासको लहर चलेको कसैकसैलाई सैह्य भएको छैन।’ मुलुकमा चौतर्फी विकासको लहर चलेको दावी गर्दै उनले डरत्रासबाट मुक्त वातावरण निर्माण गर्न सरकार कटिबद्ध भएर लागेको बताए। मुलुकमा एकै बर्षमा विकास र समृद्धिको लहर ल्याउन सफल भएको दावी गर्दै ओलीले काम नगर्नेहरु कुना पसेर कुरा काटिरहे पनि सरकारले आफनो रफ्तार पक्रिसकेको दावी गरे। ‘सरकार समृद्ध राष्ट्र निर्माणमा रफ्तारले अगाडि बढेको छ। कसैले रोइकराई गर्दैमा यो रोकिँदैन’, उनले भने।

बैदेशिक लगानी आउँदैन भनेर केही व्यक्तिले हल्ला चलाइरहेको भन्दै ओलीले असल छिमेकीले सहयोग गरे लिने नभए नेपालीकै पौरखले ५ बर्षमा समृद्धिको छलाङ मार्ने दृढता व्यक्त गरे। नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे।

Loading...