सुदर्शनलाई गिरफ्तार गरेर विप्लवलाई वार्ता अफर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपासँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन्। शनिबार नेकपापा स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज समेत रहेका विप्लव पछिका चाैथाे नम्बरका नेता हेमन्त प्रकाश वली ‘सुर्दशन’लाई गिरफ्तार गरेकै दिन ओली-प्रचण्ड पार्टीका प्रवक्ता श्रेष्ठले वार्तामा बस्न विप्लव नेतृत्वको नेकपा तयार रहनुपर्ने उनले बताएका छन् ।

‘वार्ताका लागि सरकार सधैं तयार छ,’ शनिबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले भने, ‘विप्लव नेतृत्वको समूह राजनीतिक समूह हुँदाहुँदै पनि उहाँहरुको गतिविधि गलत छ।’

श्रेष्ठले गलत खालका गतिविधिलाई निरन्तरता दिएकोले सरकारले विप्लवनेतृत्वको नेकपालाई प्रशासनिक तवरबाट नियन्त्रण गर्न खोजेको प्रष्टाए। हतियार छाडेर नेकपा शान्तिपूर्ण वार्तामा आए समस्याको समाधान निकाल्न सकिने उनले बताए। तर विप्लव नेतृत्वको नेकपाले हतियार कहिलेदेखि उठाएको हो भने विषयमा केहि बोलेनन् ।

यसअघि गत भदौमा पनि नेकपा प्रवक्तालाई गिरफ्तार गरेर ओली सरकारले विप्लवलाई वार्तामा बोलाएका थिए । त्यसबेला महासचिव विप्लवले सरकारले आह्वान गरेको बार्ता प्रस्ताव ठाडै अस्वीकार गरेका थिए। सत्ताधारीहरुले वार्ताका लागि जारी गरेको आह्वान लेपन लगाएको विषको चक्की मात्र भएको महासचिव विप्लवले बताएका थिए । विप्लवले भनेका थिए, -सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन ।’

शनिबार बिहानै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले काभ्रेबाट गिरफ्तार गरेको हो ।

नेपाल प्रहरीको विशेष व्युरोले सुदर्शनसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेमा पुरै गाँउ नै घेरा हालेर गिरफ्तार गरेको हो । तर महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले भने काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेको अवस्थामा ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेको दावी गरेको छ ।

सुदर्शनसहित गिरफ्तार पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको बताए पनि अहिलेसम्म उनको अवस्थाबारे केहि जानकारी दिएको छैन ।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

त्यसअघि नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट गिरफ्तार परेका थिए ।बिगतदेखि नै ओली सरकार नेकपमाथि व्यापक दमन गर्दै आएको छ । प्रतिबन्धपछि नेकपाका नेता कार्यकर्ताहरुलाई जहाँ भेट्यो त्यहि समात्न प्रहरीलाई निर्देशन दिएको छ ।

ओली सरकारको निर्देशन कुरेर बसेको प्रहरी अहिले नेकपा नेता कार्यकर्ता समात्न गाउँ गाउँ पुगिरहेको छ । प्रहरीले नेकपाका समर्थक शुभचिन्तकहरुलाई समेत घर खानतलासी गर्ने, अनावश्यक मानसिक तनाव दिने गरिरहेको छ । यता नेकपामाथि लागेको सरकारी पतिबन्धको भने चौतर्फी बिरोध भइरहेको छ ।

यता ओली सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपालाई समर्थन गरेर समाचार प्रकाशन प्रशारण गर्ने मिडियामाथि निगरानी बढाएको धम्की दिएका छन् ।

घुमाउरो भाषामा उनले नेकपालाई सपोर्ट गर्नेगरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने धम्की दिएका हुन्।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ आाै‌‌ स्थापना दिवसका अवसरमा भएको ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री बास्कोटाले विप्लवलाई सहयोग नगर्नका र साथ नदिन आग्रह गरे।

उनले भने, ‘सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हनन् भएको मान्ने कि न मान्ने?’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चार माध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बास्कोटाको भनाइ छ ।

सञ्चार माध्यमको नाम नलिए पनि मन्त्री बास्कोटाले त्यस्ता सञ्चार माध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियालीरहेको जानकारी दिए।यस्तै केही दिनअघि विप्लव नेतृत्वको पार्टीलाई कारबाही गर्ने बारेमा नेपली सेनाले असहमति जनाएको भन्दै समाचार प्रकाशित गरेकोमा उनले असन्तुष्टि जनाए।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले अब सरकारले बनाउने रेडियो नीति प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। ‘सञ्चारमाध्यमलाई अङ्कुश लगाउने खालको संविधान नभएकाले त्यसै अनुसार ऐन बनाउनुपर्छ’, रिजालले भने।

Loading...