नेता गिरफ्तार परेकै दिन नेकपाले गर्यो अजय सुमार्गीको जग्गा कब्जा

पोखरा, ९ चैत । स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ परेकै दिन नेत्रविक्रम चन्द विप्लव
नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विवादित व्यापारी अजयराम सुमार्गीको जग्गा कब्जा गरेको घोषणा गरेको छ । पार्टीले पोखरा महानगरपालिका शिशुवामा रहेको सुमार्गीको नामको २५ रोपनी जग्गा कब्जा गरेको हो ।

सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि. ले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं. २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ७१६, २१६७, २१७१, २१७५, २६३५, २८९६, २८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा थाहा नदिई आफ्नो नाममा गरेको भन्दै नेकपा कास्कीले कब्जामा पार्टीको झण्डा गाडेर कब्जाको घोषणा गरेको छ ।

जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्री प्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको नेकपाले दाबी गरेको छ ।

सुमार्गी सिग्देल परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रा.लि.ले विना खबर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको थियो । पीडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आबश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।

कब्जा घोषणा गरिएको जग्गा किनबेच, भोगचलन तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण, ब्यवसायी, लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागी नहुन नेकपा कास्कीले सबैमा अनुरोध समेत गरेको छ ।

यसअधि नेकपाले पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको थियो । न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो ९ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णुप्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण थापाले नेकपाको जनपरिषद्‍मा उजुरी दिएका थिए।

Loading...