नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गिरफ्तार

काठमाडौं, ९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको दावी गरेको छ ।

काभ्रेको खानीखोला गाँउपालिका–७  मा पर्ने मिल्चेबाट उनीहरुलाई समातेको प्रहरी स्रोतले जनाएको छ । काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीले गएराती नै डाँडागाउँमा घेरा हालेर उनलाई समातेको बुझिएको छ । प्रहरीले नेता सुदर्शनसहित ८ जना नेतालाई गिरफ्तार गरेको छ । प्रहरी स्राेतले पक्राउ परेका नेता सुदर्शनलाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकुमा ल्याउने तयारी भइरहेको जनाएकाे छ ।

सुदर्शन पार्टीमा चौथो नम्बरका नेता तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन । जिल्ला प्रहरी कार्यालय काभ्रेले यस विषयमा आधिकारिक खबर आइनसकेको जनाएको छ । यता नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढाकालले भने हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ जना गिरफ्तार परेको जानकारी दिए ।

ढकालले सुदर्शनसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई पनि गरिफ्तार गरिएको जानकारी दिए । नेता ओलीको गिरफ्तारीबारे सो पार्टीले भने केही जानकारी दिएको छैन ।

गत फागुन २८ गते विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि देशभर उक्त पार्टीका नेता कार्यकर्ता गिरफ्तार परिरहेका छन् । यसअघि सो पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्तसहित ४ दर्जन बढी नेता कार्यकर्ता गिरफ्तार भइसकेका छन् । नेता सुदर्शनलाई केही दिन अघि मात्र काभ्रेकै रोशी गाउँपालिका अन्तर्गत काफलडाँडाबाट पक्राउ गरिएको समाचार बाहिर आएका थिए । प्रहरीले नै केही सञ्चारकर्मीलाई खबर गरेर सुदर्शनलाई पक्राउ गर्नेबारे जानकारी दिएको बुझिएको छ । उक्त प्रचार आएको चार दिनपछि काभ्रेबाटै उनी पक्राउ परेका हुन । सुदर्शन काभ्रेमा रहेको सूचनापछि प्रहरीले निरन्तर काभ्रेका सबै क्षेत्रमा सर्च अभियान चलाएको बताइएको छ । उनलाई पक्राउ गर्ने पटक पटकको प्रयास गरेको बुझिएको छ ।

Loading...