अपहरण गरी ९ लाख लिएर फरार भएका व्यक्ति ६ वर्षपछि पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी साई रु नौ लाख फिरौती लिएर फरार रहेका थिए । मुन्नु भने अझै बेपत्ता छन् । साईलाई बाँके जिल्ला अदालतले नौ वर्ष कैद तथा रु नौ लाख ५० हजार जरिवाना तोकेको थियो । विसं २०६९ असार २६ गते घर नजिकैबाट आमिरलाई अपहरण गरी बेपत्ता पारिएको हो ।

अपहरणपछि रु २० लाख फिरौती माग गरेका अपराधीलाई पीडित परिवारले रु नौ लाख बुझाएको थियो । आफ्नै मामा सिराजुल रहमान अन्सारीमार्फत दिइएको रु नौ लाख पाएपछि अपराधीले पीडित परिवारसँग सम्पर्कविच्छेद गरेका थिए । तत्कालीन जिल्ला न्यायाधीश हरिप्रताप केसीले उक्त फैसला गर्दै जरिवानाबाट पीडित परिवारलाई क्षतिपूर्ति भराउन आदेश दिएका थिए । अदालतले साईसहितका नौ जनालाई कैद सजाय र जरिवाना गरेको थियो । मुन्नुका दाजु ताहिर अन्सारीले दिएको जाहेरीमाथि माग दाबीअनुसार नै अदालतले फैसला गरेको थियो । प्रहरीका अनुसार अपहरणमा संलग्न कम्दीका झल्लु धोबी, बकरिदी शेष, भारतीय नागरिक इरसाद खान, मोइन कुरैसी र सिराजुल रहमान अन्सारी अझै फरार छन् ।

“भाई नफर्किए पनि अपराधीलाई कारवाही भएकामा न्यायको अनुभूति भएको छ”, ताहिरले भने, “अपराधीले भाईको हत्या गरेको सूचना पाएका थियौँ, शव गाडिएको ठाउँसमेतको जानकारी आएकाले उत्खनन गरेर डिएनए परीक्षण गर्न पाउनुपर्ने परिवारको माग छ ।”

इन्द्रपुरकी सुष्मी वर्मा र भवानीयापुरका प्रमोद गिरी अदालतको आदेशपछि छुटिसकेका छन् । प्रहरी उपरीक्षक अरुण पौडेलले फरार रहेका अभियुक्तलाई चाँडै पक्राउ गरिने बताए ।

Loading...