गिरफ्तार परेको भन्दै समाचार लेखिएका नेकपाका नेता सुदर्शनले भने, ‘नक्कली भिडन्त बन्द गर’

काठमाडौं, ७ चैत । पटक पटक गिरफ्तार परेको भन्दै सञ्चारमाध्यममा समाचार लेखिएका हेमन्तप्रकाश ओली सुदर्शनले एक विज्ञप्ति जारी गर्दै काभ्रेमा पार्टीको अभियान टोलीमाथि आक्रमण गरेर भिडन्तको प्रचारवाजी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका सुदर्शनले काभ्रेमा प्रहरी आफैले निहत्था कार्यकर्तामाथि गोली चलाएर चारजना कार्यकर्तालाई गिरफ्तार गरिएको उनले जानकारी गराएका छन् । उनले काभ्रेमा नेकपा कार्यकर्ताले ‘प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फाईरिङ गरेको’ भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् ।

स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जबाफी गोली चलाएको बकबास गरिएको बताएका छन् । दलाल पुँजीवादका विरुद्ध नेकपाको आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फी गोली चलाएर आफ्ना कार्यकर्ता गिरफ्तार गरेकाे भन्दै आपत्ति जनाएका छन ।

“काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ ।” विज्ञप्तिमा भनिएको छ- “निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जबाफी गोली चलाएको बकबास गरिएको छ । यो झूट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।”

इन्चार्ज सुदर्शनले आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेका छन् ।

नेता कार्यकर्तामाथिको गिरफ्तारी र यातनाले सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको प्रत्यक्ष अनुभूति भइरहेकाे नेता सुदर्शनले बताएका छन् ।

“सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ ।” विज्ञप्तिमा भनिएको छ- “यसकारण हामी यो सरकार, गृह प्रशासन, गृह प्रशासनअन्र्तगत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको कुरा आमजनसमुदायमा अवगत गराउन चाहन्छौँ ।”

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेता सुदर्शनले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएका छन् ।

साथै उनले आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् । सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी सुदर्शनले दिएका छन् ।

प्रेस–विज्ञप्तिकाे पूर्णपाठ

Loading...