होली पर्वको मर्मलाई आत्मसात गरौं

पोखरा, ५ चैत । असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेका छन ।
आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।
यस उद्देश्यलाई आम नेपालीले पर्वमै सीमित नराखी आफ्नो जीवनशैलीमा उतार्न सक्यो भने नेपालले देखेको सुन्दर, शान्तको सपना पूरा हुनुका साथै पर्वको सार्थकता पनि प्रमाणित हुन्थ्यो । तर, पर्वको आपसी सद्भावको सन्देशलाई नेपालीले कहिले आफ्नो जीवनको मूलमन्त्रको रुपमा ग्रहण गर्नेछ भन्ने विषय अनुत्तरित छ ।
यस पर्वमा ‘होलिका’को दहन हुन्छ । होलिका को थिइन् । यसको दहन किन गरिन्छ । प्रत्येक वर्ष होलिकाको प्रतिमूर्ति दहनको माध्यमबाट समाजलाई पर्वले के सन्देश दिन खोजिएको हो । यस विषयमा गहिरिएर विचार नगरी मात्र मीठो खाने, रङ्ग खेल्ने र गीत गाएर मनोरञ्जन मै सीमित रह्यो भने पर्वको मूल उद्देश्यमाथि नै चोट पर्छ ।
दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिकालाई आगोमा नजल्ने बरदान ब्रह्माबाट प्राप्त भएको थियो । बरदानको सदुपयोग गर्नुका सट्टा कसैलाई जिउँदै जलाएर मार्नका लागि उनले बरदानको दुरुपयोग गरेको थियो । शक्तिको दुरुपयोग गर्ने, हिंसा गर्ने, अर्कालाई कष्ट पु¥याउनेजस्ता गलत क्रियाकलापलाई अन्त्य गर, अर्थात आफ्नाभित्र रहेका ‘होलिका’ मानसिकतालाई जलाएर अन्त्य गर्नु र अवदेखि असल मानव बन्नुनै उद्देश्य राखेर प्रत्येक वर्ष फागुन पूर्णिमाका दिन होलिका दहन गर्ने गरिएको हो ।
हामी समस्त नेपालीले एक अर्काको मान सम्मानको आदर गर्ने र मुलुकमा सुख, शान्ति र समृद्धिका लागि दृढसङ्कल्पित हुने बचनवद्धता प्रकट गर्नसक्यो भने होलीलगायत विभिन्न धर्म र समुदायले समाजको हितका लागि मनाउने गरेका पर्वका उद्देश्य सफलिभूत हुनुका साथै असल र सभ्य समाजको निर्माण हुनेछ । परापूर्वकालदेखि पर्वको माध्यमबाट प्राप्त शान्तिको सन्देशलाई सकारात्मक सोचाइका साथ राष्ट्र निर्माणमा लगाउन सक्यो भने पर्वको वास्तविक पहिचान स्थापित हुन्छ ।
जनताका चाहनालाई परिपूर्ति गर्नका लागि अब सुख, शान्ति, विकास र सुशासनतर्फ अग्रसर हुनुपर्ने समय हो । अब अधिकारको नाममा हिंसा, हत्या, लुटपाटबाट राष्ट्रलाई मुक्त गरी होली पर्वको सन्देशलाई सार्थक बनाउनुपर्ने आजको आवश्यकता हो ।
राष्ट्रिय एकता र मुलुकको विकासका लागि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई पूरा गर्नमा पनि होली पर्वको सन्देशले महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । समाजका प्रत्येक वर्ग एकापसमा मिलेर होली पर्व मनाइन्छ, त्यसरीनै सबैलाई विकास निर्माणको कार्यमा एकजुट हुनुपर्दछ ।

Loading...