सात प्रदेशमा सुविधासम्पन्न पाँचतारे होटल खोल्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

काठमाडौं । देशकाे पर्यटन उद्याेगमा याेगदा गर्न र राेजगारी सिर्जनामा राज्यलाई सहयाेग पुर्याउन तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबै प्रदेशमा सुविधा सम्पन्न पाँचतारे हाेटेल खाेल्ने भएकाे छ । साे याेजना अनुसार सात वटै प्रदेशमा एकएक वटा पाँचतारे हाेटेल बन्नेछन् । 

साे कम्पनीका जनसम्पर्क निर्देशक गाेविन्दराम परियार भन्छन, “पर्यटन उद्याेगलाई व्यवस्थित गर्न साेही अनुरुपका संरचनाहरुकाे विकास हुनैपर्छ । अहिले पनि सबै पर्यटकलाई राख्न सकिने प्रयाप्त हाेटल छैनन । राजधानी बाहिर सबै ठाउँमा खर्च गर्न सक्ने पर्यटकहरुलाइ लामाेसमय राख्न सकिएकाे छैन । त्यसैले हाम्राे कम्पनीले पर्यटन उद्याेगमा थप याेगदान पुर्याउन र राेजगारी सिर्जना गर्न सबै प्रदेशमा एक एकवटा अत्याधुनिक सुविधा दिनेगरी पाँचतारे हाेटेल खाेल्न लागेकाे छ ।” अहिले पनि बाैद्धमा रहेकाे हायात हाेटेलले देशकाे पर्यटनमा ठूलाे याेगदान गरिरहेकाे उनी बताउँछन् । याे हाेटेलले राज्यलाई सबैभन्दा बढी कर तिरेकाे छ । राज्यलाई सबैभन्दा बढी राजश्व बुझाए वापत हाेटेल तीन अार्थिक वर्ष सरकारबाटै पुरस्कृत समेत भएकाे थियाे । 

परियारले सात प्रदेशमा बन्ने हाेटेलहरु अबकाे ७ देखि ८ वर्षसम्ममा ती होटल पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी कम्पनीले प्रारम्भिक गृहकार्य शुरू गरिसकेकाे जानकारी दिए । प्रदेश राजधानीलाई लक्षित गरेर होटल खोल्ने कम्पनीको प्रारम्भिक तयारी छ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित कम्पनीको अहिले पाँचतारे ‘होटल हायात’ काठमाडौंको बौद्धमा सञ्चालनमा छ । १५० रोपनीमा सञ्चालित उक्त होटलमा ३०० कोठा छन् । सरकारले वातावरण बनाइदिए प्रदेश राजधानीमै होटल खोल्न सकिने प्रारम्भिक तयारी गरिएको कम्पनीका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिए । उनका अनुसार प्रदेश राजधानीमा जग्गा नै खरीद गरेर होटल खोल्ने योजना छ ।

हायात परिसरमा बिजनेश होटल

यस्तै, तारागाउँ विकास समितिको ३०४ रोपनी जग्गामध्ये लिजमा रहेको १४८ रोपनीमा थप चारओटा परियोजना सञ्चालन गर्ने कम्पनीको तयारी छ । परियारका अनुसार परियोजनाको डिजाइन र नक्सा तयार भइसकेको छ । ‘समितिको स्वीकृति पर्खिरहेका छौं,’ निर्देशक परियारले भने, ‘१४८ रोपनीमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी तथा कार्यक्रमस्थल, स्वचालित लन्ड्री सेवा, ३०० देखि ४०० कोठासम्मको ‘बिजनेश होटल’ खोल्ने तयारी छ ।’

उनका अनुसार दैनिक १ लाखसम्म आगन्तुकले अवलोकन गर्न सक्ने प्रदर्शनी तथा कार्यक्रमस्थल निर्माणको योजना छ । १४८ रोपनीमध्ये ८० देखि ८५ रोपनीमा ‘बिजनेश होटल’ खोल्ने तयारी रहेको परियारले जानकारी दिए । व्यापारी, व्यवसायी र उद्योगीहरूलाई लक्षित गरेर बिजनेश होटल सञ्चालन गर्ने गरिन्छ । नेपालमा आएर सीमित समयका सम्मेलन र कार्यक्रममा सहभागी हुने व्यापारी, व्यवसायी र उद्योगीहरूका लागि उक्त होटल खोल्न लागिएको परियारले जानकारी दिए ।

यस्तै, तारागाउँलाई सांस्कृतिक भिलेजका रूपमा विकास गर्ने कम्पनीको योजना छ । जसमा थारू, शेर्पा र गुरुङ समुदायका पहिचान झल्कने प्रकारका अलग–अलग गाउँ विकास गरिनेछ । त्यसको नक्सा तयार भइसकेको कम्पनीले बताएको छ । तारागाउँ विकास समितिले नक्सा पासका लागि लालपूर्जा दिएर सहयोग गरेमा नेपाल भ्रमण वर्ष २०२० सम्ममा यी परियोजना सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

Loading...