‘ज्यानमारा’ बन्दै ग्रामीण सडक

डोटी, ५ चैत ः बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयाँै स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

विसं २०७१ असोज २१ गते जोरायल गाउँपालिकाको कठपत्रे भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३१ को मृत्यु भयो भने ५९ घाइते भएका थिए । विसं २०७२ चैत ३० गते शिखर नगरपालिकास्थित जिजोडामाडाँैमा भएको जिप दुर्घटनामा नौ जनाको मृत्यु भयो ।

विसं २०७४ साउनमा डोटीको गगुडामा जिप दुर्घटना भयो । त्यहाँ एउटै गाउँमा नौको मृत्यु भयो । त्यसैगरी विसं २०७५ जेठ १४ गते डोटीकै बोगटान गाउँपालिकास्थित गगुडामा पुनः अर्को जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाए भने १३ घाइते भए । सरकारद्वारा गठित छानबिन समितिले साँघुरो सडक, यात्रु बढी, भिरालो बाटो र रातिको समय भएका कारण दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

रातिको समयमा यहाँका ग्रामीण सडकमा बढी दुर्घटना हुने गरेको भन्दै स्थानीय प्रशासनले रातिको समयमा जिल्लाका कुनै पनि ग्रामीण सडकमा गाडी नचलाउन आदेश दियो । बानेडंग्रीसैन–जिजोडामाडौँ, बुडर–जोरायल, दिपायल–चवराचौतरा सडकमा सवारी सञ्चालन अनुमति छैन ।

सुदूरपश्चिम प्रदेशका अधिकांश ग्रामीण सडकमध्ये धेरैले अस्थायी अनुमतिसम्म पाएका छैनन् । यातायात सञ्चालनको अनुमति नपाएका सडकमा गुड्ने सवारीले जोखिम बढाएको छ । यी सडकले मापदण्डसमेत पूरा गरेका छैनन् ।

मापदण्ड पूरा नगरेका सडकमा चल्ने सवारीले बढी यात्रु ओसार्ने गरेका छन् भने दुर्घटनापछि घाइते तथा मृतकका आफन्तले पाउने राहतमा समेत समस्या आउने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्ड विपरीतका सडकमा जथाभावी गाडी गुडाउँछन्, दुर्घटना भएपछि क्षतिपूर्ति लिन समस्या हुने गर्दछ ।” सवारी सञ्चालनको अनुमति नपाएका सडकमा दुर्घटना भएमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समस्या हुने उहाँको भनाइ छ ।

 

तोकिएको मापदण्ड पूरा नगरेका सडकमा सवारी सञ्चालनको अनुमति हँुदैन । यहाँको प्रशासनले राजनीतिक र जनताको दवावका कारण सवारी चलाउन दिएको बताउँदै आएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भन्नुभयो, “गाउँमा बाटो पुगेपछि सवारी सञ्चालनको माग आउँछ । माग पूरा नगरे जनताको दवावसमेत आउने भएकाले सञ्चालन गर्न अस्थायी अनुमति दिएका छौँ ।”

अहिले डोटीको बुडर–जोरायल सडक, दिपायल–बोगटान सडक, राजपुर–गडसेरा सडकमा सवारी सञ्चालनको अनुमति नै छैन । त्यस्तै डडेलधुराको बुडर–जोगबुढा सडक, बाजुराको तिपडा–मार्तडी सडकको अस्थायी अनुमति भए पनि बाँकी ग्रामीण सडकमा सवारी सञ्चालनको अनुमति नभएको यातायात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ ।

Loading...