विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ललितपुरस्थित कोठाबाटै गिरफ्तार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ गिरफ्तार परेका छन । महानगरीय अपराध महाशाखाको एक टोलीले ललितपुरकाे च्यासलमा रहेकाे उनकै कोठाबाट शुक्रबार साँझ उनलाइ गिरफ्तार गरेको बुझिएको छ ।

नेता कार्की उपत्यका बाहिर रहेकाे र शुक्रबार मात्र राजधानीमा आएर काेठामा औषधी लिन डेरामा पुगेका बेला उनलाइ गिरफ्तार गरिएकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनलाइ बाटो कुरेर बसेका प्रहरीले गिरफ्तार गरेको पनि परिवारका सदस्यले जनाएका छन । मुटु र सुगर रोगका कारण लामाे समयदेखि औषधी खाँदै आएका कार्की काेठामा औषधी लिन जानासाथ सादा पोशाकमा कुरेर बसेका प्रहरी र पछि ड्रेससहित आएका प्रहरीकाे टाेलीले काेठाबाटै पक्राउ गरेको बताइएकाे छ । 

गिरफ्तार गरेर उनलाई कहाँ राखिएको छ भन्ने प्रहरीले कुनै जानकारी दिएको छैन । ललितपुर प्रहरीले भने उनलाई पक्राउ गरिएकोबारे जानकारी नभएकाे बताएकाे छ । परिवारका सदस्यले उनलाइ विना कारण गिरफ्तार गरेर बेपत्ताजस्तै बनाएको भन्दै रिहाइको पहल गरिदिन पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजलाई आग्रह गरेका छन । यसअघि गत साउनमा पनि नेता कार्कीलाइ प्रहरीले गिरफ्तार गरी लामाे समय हिरासतमा राखेकाे थियाे । 

नेकपामाथि प्रतिबन्ध लगाएको सरकारले साे पार्टीका नेता कार्यकर्तामाथि व्यापक धरपकड र गिरफ्तारी बढाएको छ । नेकपाका नेता कार्यकर्तालाई विभिन्न अभियोगमा गिरफ्तार गरेर हिरासतमा राख्ने र अदालतले निर्दोष साबित गरेर रिहा गर्न आदेश दिँदा पनि फेरी गिरफ्तार गर्न थालेको छ ।

Loading...