फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो भयानक आक्रमण, ३० को मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भएको छ । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ ।

न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा यो आक्रमण भएको हो । आक्रमणबाट ठूलो संख्यामा मानिस घाइते भएको र मृतकको संख्या पनि ३० बाट बढ्न सक्ने अनुमान गरिएको छ।

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेली मेलले यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको बताइएको छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कार पार्क गरेको र कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए । आक्रमणकारीले लाइभ गरेको भिडियो १७ मिनेटको भएको बताइएको छ । पटक पटक मस्जिदभित्र छिरेर अन्धाधुन्द गोली प्रहार गर्दै बाहिर निस्कने गरेको भिडियोमा देखिन्छ । उक्त भिडियो गोली प्रहार गरेर कारसँगै भागेपछि अन्त्य भएको बताइएको छ ।

आक्रमणपछि अर्को सूचना जारी नगरेसम्म क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरु बन्द गरिएको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले यो घटनालाई न्यूजिल्याण्डको इतिहासकै कालो दिन भएको बताएकी छन् ।

Loading...