मन्त्रीमाथि मुक्का प्रहार

एजेन्सी । संसद् भवनतर्फ गइरहेका न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै दुर्व्यवहार भएको छ। ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहको मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ। मुक्का लागेका मन्त्री सह सख्त घाइते भने नरहेको बिबिसीले उल्लेख गरेको छ।

आफ्नो क्याबिनेट मन्त्रीले सडकमा मुक्का खाएपछि प्रधानमन्त्री ज्याकिन्दा अर्डेनले भनिन्, ‘न्युजिल्यान्डमा यस्ता खालको गतिविधि होस् भनेर कसैले चाहेका छैनन्।’ यस्तो घटनाले देशको राजनीतिक खुलापनप्रति नै प्रश्न उठाउने र सांसदको पहँुचमा पनि समस्या आउने उनले बताएकी छन्।

‘हाम्रो देशमा राजनीतिज्ञ सहजै उपलब्ध हुने वातावरण छ, जुन विषयलाई हामीले गर्वका रूपमा लिने गरेका छौं,’ प्रधानमन्त्री अर्डेनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘हामी सबै जनताको सेवाका लागि हौं। तर आजको घटनाले त्यस्तो गर्न हामीलाई समस्या उत्पन्न हुने देखिएको छ,’ उनले बताइन्।

मन्त्रीलाई मुक्का प्रहार गरेको अभियोगमा एक ४७ वर्षीय पुरुष पक्राउ परेका छन् र उनलाई शुक्रबार अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ। मुक्का लागेपछि मन्त्री सहको आँखा कालो भएकाले अस्पतालमा उपचार गराउन गएको ग्रिन पार्टीका प्रवक्ताले बताएका छन्। मन्त्री सहमाथि भएको आक्रमण राजनीतिक रूपमा प्रेरित थियो वा थिएन भनेर अझै प्रस्ट नभइसकेको बताइएको छ।

Loading...