धनकुटाका एक किसानले छोराको बिहेमा २ विमान चार्टर गरेर लिए जन्ती

धनकुटा, १ चैत । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् ।

धनकुटा महालक्ष्मी नगरपालिका-८, मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई वटा प्लेन चार्टर गरेका हुन् । दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । २९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए ।

थापाले पहिलोपटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकलाइ जन्ती लिएर गएका हुन्। उनले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर उडाएका थिए । ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ।’

७५ वर्षीय दिलबहादुर पौडेलले पहिलो पटक काठमाडौँ पुग्दा निकै दङ्ग परेको बताए। जन्ती भएर दौरा सुरुवालमा ठाँटिएका पौडेलले जहाजसमेत पहिलो पटक चढेको बताए। एकै दिनमा विराटनगर–काठमाडौँ हवाईजहाज चढेर आतेजाते गर्दाको क्षण जीवन सुखद रहेको प्रतिक्रिया दिए।

जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि गएका थिए। जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य होटलमा पुग्दा अधिकांश दङ्ग देखिएको जन्तीका रूपमा गएका महालक्ष्मी नगरपालिका मेयर नेपालले बताए। ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज चढेका थिए।

अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पूरा गरेको बताए। उनी छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदीसहित जहाजबाट बुधवार राति नै पुनः जीतपुर फर्किएका छन्।

धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए । 

Loading...