बन्दमा चलेका सवारीसाधनमाथि ठाउँ–ठाउँमा तोडफोड, आगजनी र बम (अपडेट)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दकाका कारण पुरै देशको जनजीवन ठप्प बनेको छ । राजधानी काठमाडौंसहित, पोखरा, हेटौंडा, बिराटनगर, धरान, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत पश्चिम नेपालका मुख्य सहरहरु बन्द रहेका छन् ।

बन्दका कारण देशभर बिहानी सेवाका यातायात तथा शैक्षिक सस्थाहरु ठप्प बनेका छन् । काठमाडौंमा फ्याट्टफुट्टरुपमा मोटरसाइकल र साना सवारीसाधन देखिए पनि मुख्य सडकहरु खालि छन् । बजार ब्यबसाय पनि ठप्प छ ।

यसैबीच बन्द अबज्ञा गरेको भन्दै नेकपाका नेता कार्यकर्ताहरुले ठाउँ-ठाउँमा सवारीसाधनमाथि तोडफोड र आगजनी गरेका छन् । बन्दको दिन जमिनमुनि गाडेर राखेको अवस्थामा राजधानीको स्यूचाटार कमलपाेखरी नजिक गाडरे राखेकाे अबस्थामा प्रेसर कुकुर बम भेटिएको छ ।

उक्त ठाउँमा अहिले प्रहरीले पहरा दिइरहेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलि घटनास्थलमा पुग्दैछ । मकवानपुरको थाहा नगरपालिकामा आज्ञात समुहले ट्रकमा आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४/५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकम रहेको चालक सहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन ।

त्यस्तै नेपाल बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले धादिङको निलकण्ठ नगरपालिका-५ ससाहमा एक मालबाहक ट्रकमाथि तोडफोड गरेका छन् । विहिबार विहानै ५ बजे नेकपाका कार्यकर्ताले उक्त मालबाहक ट्रकमा आगजनी प्रयास गरेपछि चालकले गाडी भगाएको बताइएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी नेकपाले गरेको आशंका प्रहरीको छ।

यसैबीच नेकपा जनपरिषद्ले परासीको पाल्हीनन्दन गाउँपालिका -६ पडरीमा रहेको ३४ विगाहा जमिन कब्जा गरेको छ । स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्।

यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जजाएको छ।

यस्तै बुटवलको कालिकाचौकमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो । अहिले घटनास्थलमा प्रहरीले सुरक्षा दिएको इप्रका बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए।

बुधबार साँझ पनि बुटवलका विभिन्न स्थानमा विष्फोटको आवाज आएको थियो। आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले बिहीबार नेपाल बन्द आव्हान गरेको छ। बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन्। शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ।

त्यस्तै प्यूठानको दुई स्थानमा बम जस्तै खेदिने शंकास्पद वस्तु फेला परेको छ। माण्डवी गाउँपालिका-३, देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। सेनाले देविस्थानको शंकास्पद वस्तु डिस्पोज गराएको छ।

भिंगृमा फेला परेको शंकास्पद वस्तु डिस्पोजको लागि सेनाको डिस्पोजल टोलि घटनास्थल पुगिसकेको जिल्ला प्ररहरी प्रमुख डीएसपी निर्मल वुढाथोकीले बताए। भिंगृको वस्तु सुरक्षित स्थानमा लगेर केही बेरमै डिस्पोज गरिने बुढाथोकीले जानकारी दिए

नेपाल बन्द सफल पार्न शंकास्पद वस्तु राखेको अनुमान प्रहरीले गरेको छ। बन्दका कारणा प्यूठानकाे जनजीवन प्रभावित भएको छ। जिल्लाको मुख्य बजार बिजुवार, बाग्दुला, भिंगृ लगायत बजार क्षेत्र बन्द रहेका छन्। जिल्लाबाट चल्लने लामा तथा छोटा दूरीका सवारी साधन चलेका छैनन्। कल कारखाना, शैक्षिक सस्था सबै पूर्णरुपमा ठप्प छन्।

उता रुकुम पूर्व- सिस्ने गाउँपालिका-५, स्थित रुकुमकोट जिल्ला अदालत भन्दा २ सय मिटर अगाडिको घुम्ती छेउमै प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेकोछ । उक्त वस्तुलाई बम भएको आशंका गरिएको छ । पोको भित्रबाट २ वटा तामाको तार पनि बाहिर निकालिएको छ । बिहीबार बिहान पसल खोल्न भनेर घुम्ती नजिक पुगेका स्थानीयले उक्त वस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त ठाउँमा हाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शंकास्पद वस्तु फेला परेको तर यही चिज हो भनेर पहिचान भै नसकेको बताए । ‘हामी यहाँ हेर्दै छौं,’ प्रजिअ शर्माले भने, ‘वस्तुको पहिचान भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइन्छ ।’ नेकपाले उक्त वस्तु राखेको अनुमान प्रहरीले गरेको छ ।

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

त्यस्तै बाजुरा जिल्लाको २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ। साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजारमा र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बाजुरा जिल्लामा चल्ने साना तथा ठुला सवारी साधन आज बिहान देखि ठप्प भएका छन्। बन्दका कारण सुदूरपश्चिमका नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बन्द अबज्ञा नगर्न र ओली सरकारको ज्यादतीबिरुद्ध लडिरहेको आफ्नो पार्टीलाई साथ दिन नेकपाले सबैलाई अनुरोध गरेको छ । बन्द अवधिमा देशभरको अवस्था र घटेका सबै घटनाको जानकारी दिन हामी निरन्तर अपडेटमा छौं ।

Loading...