शैक्षिक अवस्थामा सुधार गाउँमा खुशी

जाजरकोट, ३० फागुन । विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् ।

कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे गाउँपालिकाले पहिलो चरणमा २६ विद्यालयका भवन निर्माण गरेको हो ।

विद्यालय भवन नहुँदा आकाशमा बादल देखिनासाथ विद्यालय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो पहिलो चरणमा जीर्ण विद्यालय निर्माणकार्य अगाडि बढाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताय ।“शिक्षा नै जिन्दगीको पहिलो आधार भएकाले, हाम्रो पहिलो काम विद्यालय निर्माण गरी यहाँका हजारौँ बालबालिका बस्ने ठाउँको आधार तयार गरिएको छ ।”

धुलो र खुला चौरमा बसेर शिक्षा आर्जन गर्दै आएका दुर्गम गाउँका विद्यार्थी विद्यालय भवन निर्माण भएसँगै कक्षाकोठामा खुशीका साथ बस्ने गरेको शिक्षक नीमबहादुर ओलीले बताय ।

गाउँपालिकाभित्रका अन्य विद्यालयका भवनसमेत क्रमागत रूपमा समस्याका आधारमा क्रम निर्धारण गरी निर्माण हुँदै जाने गाउँपालिकाले जनाएको छ । कुशेगाउँपालिका–२ देखि ९ सम्मका अतिसमस्याग्रस्त विद्यालय पहिलो चरणमा निर्माण गरिएको छ ।

वडा नं १ का विद्यालय भने निर्माण नहुँदा वडाध्यक्ष गोपाल नेपाली रुष्ट भएका छन् । प्रावि, निमावी र मावि तहका विद्यालयलाई समस्या र विद्यार्थीको चापको आधारमा निर्माण गरिएको लेखापाल छवि खनालले बताय । विद्यालय भवन निर्माण भएपछि निकै खुसी भएको वीरेन्द्र प्रावि बरखालका विद्यार्थीले बताएका छन् । कक्षाकोठा नहुँदा भुइँमा बस्नुपर्ने समस्या हल भएको भन्दै निकै खुशी भएको पुतली प्रावि छहरागाउँका छात्र महेश थापाले बताए ।

त्यस्तै सधैँ आकाशमा बादल देखिनासाथ झोला बोकेर घर जानुपर्ने र पढाइ नहुँदा तनाव हुने समस्या हल भएको सरस्वती निमावि डाँडाभौता, अर्छानीका छात्रा नवीना शर्माले जानकारी दिइन् ।दरबन्दीअनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित भएका विद्यालयमा ८१ अनुदानमा नयाँ शिक्षक नियुक्ति गरी  पढाइ शुरु गर्दा केही समस्या हल गरेको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताए ।

 

Loading...