विप्लवमाथि प्रतिबन्ध लगाएर सरकार आफै युद्ध उन्मुख भयोः आहुति

काठमाडौं, २९ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणका निम्ति वैचारिक राजनीतिक तथा सामाजिक अभियान समितिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर सरकार आफै युद्ध उन्मुख भएको ठहर गरेको छ।

संयोजक आहुतिले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफ्नो अक्षम अस्तित्वलाई ठाकछोप गर्न नै नेकपामाथि प्रतिबन्धको घातक नाटक सुरु गरेको उल्लेख गरिएको छ।

‘सरकारद्वारा नेकपामाथि प्रतिबन्ध घोषणाले हामीलाई गम्भीर बनाएको छ, कमरेड नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले उठाएका राजनीतिक माग, सरोकार र असन्तुष्टिलाई आमजनताले पत्याउने स्तरमा सम्बोधन गर्ने न्यूनतम चेष्टा सरकारले गरेकै छैन र त्यस पार्टीले जिम्मा दिएका केही घटनालाई आधार बनाएर प्रतिबन्ध स्तरको चरम निर्णय कदापि जायज हुनै सक्दैन,’ विज्ञप्तिमार्फत आहुतिले भनेका छन्, ‘यस प्रतिबन्धको सहारामा गलत त्रियाकलापको आलोचक जनसमुदायमाथि राज्यआतंक श्रृष्टि गर्ने कुचेष्टा सरकारको नियत हो भने त्यसको परिणाम नेपाली इतिहासमा पटक–पटक कसरी प्रकट भए स्पष्टै छ।’

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणका निम्ति वैचारिक राजनीतिक तथा सामाजिक अभियान समितिले नेकपा नेपाली समाजको क्रान्तिकारी कित्ताको शक्ति भएको उल्लेख गर्दै नेकपाले उठाएका वैचारिक र राजनीतिक मुद्दालाई राजनीतिक संवाद र परिवर्तनतिर अघि बढ्ने संकल्पबाट मात्रै समाधान हुने प्रष्ट पारेको छ।

‘तसर्थ, प्रतिबन्ध घोषणालाई तुरुन्त फिर्ता लिई राजनीतिक संवादको प्रक्रिया शुरुआत गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस कदमले अनाश्यक दुर्घटनामा नेपाली समाज धस्सिने भएकाले यस प्रवृतिलाई अगाडि बढ्न नदिन समाजका सबै तप्का सचेत भई दवाव श्रृष्टि गर्न हार्दिक अपील गर्दछौं।’

Loading...