विप्लवी ईगो र दुश्मनी बादल हुँदै ओली-प्रचण्डसम्म

जनयुद्धका सुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो । सैन्य बिज्ञानमा पोख्त, ईन्जिनियर बादलले माओवादी सेनाको गठन, तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो । चाहे सेनाको निर्माण सम्बन्धमा होस वा यौन प्रकरणमा उनी सधै चर्चामै रहे । युद्धको विकास सँगसँगै माओवादीमा विप्लव, प्रभाकर, अनन्त आदिको पकड र नेतृत्व विकास हुँदै गएपछि चाहिँ बादल अलि छायामा पर्दै गए । माओवादी भित्र पनि कुरा ठुल्ठुला गर्ने तर कार्यान्वयनमा अल्छी देखाउने मस्तराम भनेर उनको आलोचना भइरहन्थ्यो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि रक्षा मन्त्री बन्न सफल भए पनि बादलले केही करामत देखाउन सकेनन । साँच्चै भनौ भने सेनाले उनलाई स्वीकार्दै स्वीकारेन र उनले पनि सेनाको मन जित्न सकेनन । त्यतिखेर नेपाली सेना भित्र उनको नाम “Mr Cloud” को नामले चर्चित थियो । समग्रमा भन्दा बादल आलिअलि गड्गडायो तर पानी पार्न सकेन । भलै सर्बसाधारण र युवाहरुको बीचमा बादलको फिल्मी हिरो जस्तो छवि भएको होस ।

०६४ पछि माओवादीमा किरण पक्ष र प्रचण्ड पक्ष भनि अन्तरसंघर्स छताछुल्ल भयो । किरण पक्षमा नेतृत्व किरणको भनिए पनि यस्को आन्तरिक पक्ष र संगठनहरुमा विप्लवको योगदान रहेको कुरा छिपेको थिएन । विप्लव बिस्तारै वैकल्पिक नेतृत्वको रूपमा विकास भइरहेका थिए भने बादल चाहिँ प्रचण्डकै नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ भन्दै उनैलाई साथ दिदै रहे । अन्तरसंघर्ष यति निर्मम हुँदै गयो कि, अन्ततोगत्वा माओवादी फुट्यो । माओवादी फुट्दै गर्दा बादल पनि किरण/विप्लवको पक्षमा आए । उनले चितवन पुगेर प्रचण्ड ईण्डियन जासुसी संस्था “र” को एजेन्ट भएको घोषणा गरे । मोहन बैद्य, किरणले नेतृत्व गरेको पार्टीले दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्यो । सो बेलामा पार्टी भित्र चुनाव उपयोग गर्नुपर्छ भनी पम्फा भुषाल र हितमानहरुले खुबै बहस गरे, वास्तवमा चाहिँ बादलको नै योजना थियो तर बाहिर रत्नपार्क गएर भोटको बाक्सा फोर्ने नाटक गरे बादलले ।

अझ अगाडि बढ्दै ट्रकमा हतियार ल्याएर जनतालाई बाँड्ने र कुनै हालतमा चुनाव हुन नदिने उत्तेजक भाषण गरे । व्यवहारमा भने माखो मारेनन, पार्टी कार्यालयमै एक महिनासम्म डेरा जमाएर मासुभात खाने कामभन्दा अरु केही भएन । त्यतिबेला नै बिप्लब भने दाङ, रोल्पातिर जनताको बीचमा गइ चुनाव बहिष्कारको प्रचार गर्दै थिए । यी यावत तथ्यहरुको कारणले पनि बैध्य पार्टीभित्र पनि बादल नेताको रुपमा स्थापित हुन सकेनन । यता विप्लवलाई सारा पार्टी पंङ्तिले नेता मान्दा बादल चाहिँ भित्रभित्रै जलनमा छट्पटिदै रहे । उतिबेलैदेखि विप्लवसँग खासै नबोल्ने वा रिस गर्ने गरेको चर्चा हुने गर्दथ्यो । पार्टी निर्माण र संगठनमा खासै योगदान नभए पनि पम्फा भुषाल, देव गुरुङ, हितमान, दिनेश आदिलाई प्रयोग गरेर किरणलाई घेरा हाल्ने र विप्लवलाई एकहदसम्म एक्ल्याउन चाहिँ सफलै थिए- बादल । अन्ततोगत्वा उक्त पार्टीभित्र पनि निर्मम संघर्ष सुरु भयो । मोहन बैध्य सम्मानित नेता भए पनि उहाँले बादलको घेरा तोडन र विप्लवलाई न्याय गर्न सक्नुभएन । बादलहरु चितवनको जग्गा बेच्ने काण्डमा मुछिदै गए, त्यस्को विरुद्ध लागेका अनिललाई कारबाहीको फरमान जारी भयो- बादलबाट । कर्मचारी लगायत अन्य संगठनहरुलाई भताभुङ्ग पारे बादल र पम्फा भुषालले ।

त्यतिबेला विप्लवलाई को को भेटछन र के कुरा गर्छन भनि पत्ता लगाउन बादलको निर्देशनमा अनेकौं जासुसहरु सक्रिय थिए- पार्टीभित्र । पार्टीभित्र बादल पक्षधरहरुले पेल्दै गए, पार्टी अध्यक्ष किरणको भूमिका महाभारतका धृतराष्ट्र जस्तो हुन पुग्यो । विप्लवले शिवगढी (कपिलवस्तु)मा छुट्टै भेला राखे, अन्ततोगत्वा सो पार्टी पनि फुट्यो र विप्लवको नेतृत्वमा नयाँ पार्टीको जन्म भयो, एकीकृत जनक्रान्तिको कार्यदिशा सहित ।

म यहाँ के कुरा स्पष्ट पार्न चाहन्छु भने बादल र विप्लव बीचमा पछिल्लो चरणमा कहिल्यै पनि कमरेडी सम्बन्ध भएन, बादल सधै त्रसित हुन्थ्ये विप्लवसँग । बादल इगोइज्म र हीनताबोधको शिकार भएका थिए, जुन एक प्रकारको मनोरोग हो । विप्लवले नयाँ पार्टी गठन गरेपछि बादल चाहिँ आफ्नो व्यक्तिगत भविष्यको चिन्ताले ग्रसित भए, जतासुकै अँध्यारो देख्न थाले । फलस्वरूप मोहन बैध्य समेतलाई लात हान्दै प्रचण्डमा बिलिन हुन पुगे र पुरस्कार स्वरुप गृहमन्त्रीको जागिर खाइरहेका छन । गृहमन्त्रीको रुपमा पनि उनी कमजोर नेतृत्व हुन । उनैले घोषणा गरेको यातायात सिन्डिकेट र आइएनजीओहरुलाई अनुगमनमा राख्ने कार्यक्रम सफल हुन सकेका छैनन ।

यो कुरा स्पष्ट छ- बादल सधै विप्लवलाई सिध्याउन वा निमिट्यान पार्न चाहन्छन । आजकल यो व्यबहारबाट पनि स्पष्ट भइसकेको छ, नत्र यत्तिको दमन के को लागि ? बिप्लब आफू सहित मुख्यमुख्य नेताहरू भूमीगत जस्तै भएका छन, कार्यकर्ताहरु जहि तहीबाट गिरफ्तारीमा परिरहेका छन, यसमा बादलको ठाडो आदेशले काम गरेको छ । केही समय पहिला एउटा कुरा चर्चामा आयो- बिप्लब नेतृत्वको कम्युनिस्ट पार्टीको सम्पूर्ण सूचना गृह मन्त्रालयले सङ्कलन गर्न गृहमन्त्रीको कडा सर्कुलर जारी भयो, जसमा पार्टी सदस्य सहित समर्थक समेतको रेकर्ड, सैन्य क्षमताको आँकलन, जनवर्गीय संगठनका नेताहरूको रेकर्ड आदि, ईत्यादि मागिएको छ । यी सब बकवास हुन । सबै कुराको जानकारी गृहमन्त्रीको जागीर खाइरहेका बादल आफै जान्दछ्न । उनको गृह मन्त्रालय र खुफिया एजेन्सीभन्दा जानिफकार छन उनी । मातहतका निकायबाट आएको सूचनामा उनी आफैले थपघट गर्दा हुन्छ ।

हालसालै नेपाल सरकारले तराईमा विखण्डनको नारा चर्काईरहेका सिके राउतलाई अदालतको सेटिङमा रिहाई गरेको भोलिपल्टै ११ बुदे सम्झौता गर्योर । उक्त शंकास्पद सम्झौताको जनस्तरमा बिरोध भइरहेको छ । नेपालको सार्वभौमसत्ता माथि सरकारले खेलवाड गरेको आशंका छ, जनमतसङ्ग्रहको अवधारणालाई आ-आफ्नो अर्थ अनुसार ब्याख्या गरेका छन भने भारतीय नेताहरुद्वारा अब फ्री मधेसको अभियान स्वीकृत भएको आशयमा वक्तव्य आएका छन र स्वयं सिके राउतको अभियान पनि रोकिएको छैन ।

सरकार अझ अगाडि बढ्दै २८ फागुन रातीबाट विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो । नेपालको इतिहासमा ०४६ पछि राजनैतिक पार्टीलाई प्रतिबन्ध लागेको प्रहिलो पटक हो । विप्लव नेकपाका कार्यक्रम र कार्यदिशा प्रति धेरैको असहमति हुन सक्छ, उक्त पार्टीको कारवाहीमा सर्बसाधारण पर्नु गम्भीर गल्ती हो तर राज्यलाई ७२ अर्ब राजस्व नतिर्ने कम्पनीलाई सरकारले किन कारवाही गर्दैन ? अहिले एउटा राजनैतिक पार्टीलाई अपराधिक समूह जस्तो व्यवहार गर्ने सरकारी रबैयाको सर्बत्र बिरोध भइरहेको छ । यी सबै बिप्लव नेकपाका मान्छेहरु पनि होइनन् तर एउटा सचेत नागरिकको तर्फबाट पनि सरकारको कदमको बिरोध हुनुलाई संबेदनशील रुपमा लिन सकिएन भने भोलि बिकराल अबस्थाको सृजना हुन सक्छ । नेपालको संबिधानले पनि पार्टी माथि प्रतिबन्धको अधिकार दिदैन । नेपालको शासकीय स्वरुप, संबिधान र अन्य संयन्त्रमा के के परिवर्तन अपरिहार्य छ भन्ने कुरो खुला छलफल हुनुपर्दछ । यस्को निम्ति सरकार र विप्लब नेतृत्वको नेकपा सँगसँगै बसेर बार्ता गरुन । प्रधानमन्त्री स्वयंले लुटेरा समूह भनि आक्षेप लगाउनु शोभनीय होइन । अझ मलाई र प्रचण्डलाई मार्न मान्छे खटाएकोले प्रतिबन्ध लगाएको हुँ भन्ने तर्क स्वयं प्रधानमन्त्रीले गर्नु लज्जास्पद छ । अलि पहिले यो समस्या विप्लब र बादलबीच हो कि भन्ने अड्कल थियो तर अब झनै एक लेभल बढेर सिधै ओली/ प्रचण्ड सँग उनको टकराव पर्ने छाट देखिदैछ ।

अन्त्यमा म यो स्पष्ट गर्न चाहन्छु- विप्लब त समयको कठोर परीक्षामा छन, उनी सफल/असफलता जे पनि हुन सक्लान । कतिले उनलाई आशाको दियो मान्लान, कतिले विध्वंसको झिल्को पनि मान्न सक्छ्न । तर विप्लवलाई सिध्याउँछु भनेर कम्मर कसेका ओली/प्रचण्ड/बादलको हार र देश फेरि गृहयुद्धको चपेटामा होमिनु बाहेक अरु बिकल्प हुनेछैन । यो राजनैतिक मुद्दा हो, दमनको बाटो अख्तियार नगर, सरकारलाई चेतना हुनैपर्ने हो, बेलैमा चेतना भया !!

Loading...