तीन करोड ठग्ने महिला धरौटी बुझाउन नसकेर जेल

पोखरा । बाग्लुङमा विभिन्न व्यक्तिहरुबाट पैसा उठाएर भागेकी एक महिला अन्ततः जेल पुगेकी छन् । बाग्लुङ घर भई पोखरा लेखनाथमा बस्दै आएकी सरिता कुमारी रानालाई कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

सरिताले सयौं व्यक्तिहरुसँग पैसा मागेर अन्ततः सबैको सम्पर्कबाट वेपत्ता भएकी थिइन । राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र आफ्नो धेरै व्यवसाय भएको गफ दिएर सयौंसँग रकम उठाउन सफल भएकी थिइन । अन्ततः तीन करोड बराबरको रकम उठाएपछि एकाएक फरार भएकी थिईन् ।

यसरी भागेकी सरिता विरुद्ध पीडितले माघ १ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले उनलाई त्यसको सात दिनपछि नै काठमाडौंमा पक्राउ गर्न सफल भएको थियो । प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा पु¥याई ८ गते नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

उनीमाथि प्रहरीले थप अनुसन्धान गर्दा तीन करोड जति ठगी गरेको थाहा भएको हो । प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गर्यो । अदालतले उनलाई पाँच करोड धरौटी मागेको थियो । तर, उनले सो धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको थियो ।

सरितामाथि जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको मुद्दा शाखाका नायव सुब्बा रामप्रसाद न्यौपानेले बताए । सोही मुद्दामा थुनछेक बहसपछि मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासले बिगोको दोब्बर रकम अर्थात ५ करोड रुपैयाँ धरौटीको आदेश गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई कास्की कारगार चलान गरिएको हो ।

Loading...