संस्कृतिविद सत्यमोहन जोशीलाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान

काठमाडौं, २८ फागुन । संस्कृतिविद सत्यमोहन जोशी अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन । मंगलबार राजधानीमा आयोजित एक समारोहमा जोशीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो पुरस्कार प्रदान गरेका हुन् ।

नेपाली लोक साहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् जोशीलाई कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रदान गरेको हो । एक लाख एक हजार राशीको पुरस्कारसहित जोशीलाई प्रतिष्ठानले दोसल्ला ओढाएर सम्मान गर्यो ।

समारोहमा श्रष्ठा महेश्वर पन्तको कथाकृति नबोल्नेहरुको लोकार्पण पनि गरिएको थियो । अमेरिकामा वसोवास गर्दै आएका कथाकार पन्तले नै यो प्रतिष्ठानले विश्वभर छरिएर नेपाली लोकसाहित्यमा अनुपम योगदान गरेका नेपालीहरु मध्येबाट प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गरेको छ ।

विदेशमा बसेर पनि नेपाली लोक साहित्यमा योगदान गर्ने व्यक्तिलाई १००१ युएस डलर र नेपालमा बसेर योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष रु. १०१००० पुरस्कारसहित सम्मान गरिने पुरस्कारका संस्थापक महेश्वर पन्तले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टा कालीभक्त पन्त नेपाली लोक साहित्यका इतिहासमा नक्षेत्र रहेको बताए । उनले नेपाली लोकसाहित्यलाई विकास गर्न अतुलनीय योगदान गरेका शताब्दी पुरुष जोशीलाई पुरस्कृत गर्ने प्रतिष्ठानको निर्णय निकै प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा पुरस्कृत तथा सम्मानित संस्कृतिविद सत्यमोहन जोशीले कालीभक्त पन्तको प्रेरणाले नै आफू यस क्षेत्रमा लागि परेको कुरा बताउँदै सह प्राज्ञ भएका वेला ज्यानको जोखिम मोलेर नेपाली लोक साहित्यको खोज अनुसन्धानका लागि विकट जिल्लामा गएको अनुभव सुनाउँदै त्यहाँका स्थानीय बन पाखाका गीतबाट प्रभावित भएको र तिनको संकलन गरेको बताए ।

जोशीले तिनै बनपाखाका स्थानीय गीत सम्बन्धी लेखेको अनुसन्धानात्मक कृतिले मदन पुरस्कार पाएको थियो । सो जानकारी दिँदै जोशीले आफूले पाएको मदन पुरस्कारको श्रेय उनीहरू नै रहेको बताए ।

स्रष्टा कालीभक्त पन्तका बारेमा चर्चा गर्दै साहित्यकार प्रेम छोटाले कालीभक्त पन्त त्यसवेला राणा सरकार विरुद्धको आन्दोलनमा लागेका सेनानी भएको र प्रजातन्त्रको उदय पश्चात तात्कालीन गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालाई प्रजातन्त्रका सेनानीलाई पेन्सन दिनुपर्ने माग राख्दा सुनुवाइ नभएका कारण नेपाली लोक साहित्यको उत्थानमा लागेको कुरा बताए । त्यसबखत पनि जातभातको छुवाछूत र रजस्वलाका विषयमा हुने विभेदका विरुद्धमा कालीभक्त पन्त खरो रूपमा उत्रिएका कुरा बताएका थिए । त्यसैगरी साहित्यकार गोपीकृष्णले स्रष्टा कालीभक्त पन्तको नेपाली लोक साहित्यका क्षेत्रमा रहेको योगदानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा लोकार्पण गरिएको स्रष्टा महेश्वर पन्तको दोस्रो कथा कृति नबोल्नेहरू माथि समीक्षा गर्दै वरिष्ठ साहित्यकार किशोर पहाडीले कथाभित्रका हरेक कथाले नेपाली जनजीवन र माटो बोलेको कुरा बताए ।

त्यसैगरी अर्का समीक्षक राजकुमार बानियाले कृतिभित्रको कथाहरू उत्तिकै सशक्त रहेको र त्यसमा पनि न्यूयोर्कको गन्धर्व शिर्षकको कथा आफूलाई अत्यन्त मन परेको कुरा बताएका थिए ।

कथाकार महेश्वर पन्तले आफू अमेरिका बसेता पनि मन मुटु सबै तिनै गाउँ वेशी र तिनै झुपडीहरूमा रहेको कुरा बताएभने साहित्यकार गोविन्द गिरी प्रेरणाले महेश्वर पन्तका कथाहरू पाठकहरूलाई तिनै परिवेशमा घुलमिल गराउन सक्ने क्षमता भएको कुरा बताउँदै महेश्वर पन्तकथा क्षेत्रमा उच्च शिखरमा पाइला टेक्न सक्ने सम्भावना बोकेका कथाकारको रूपमा परिचित गराए । उक्त कृतिको सम्पादक हरि अधिकारी हुन् भने सह–सम्पादक रमेश दाहाल हुन् ।

कार्यक्रममा यसअघि ब्लड डोनर्स अफ अमेरिकाले आयोजना गरेको कविता महोत्सवका विजयी प्रतियाेगीहरुलार्इ पुरस्कार वितरण पनि गरिएकाे थियाे । प्रतियाेगितामा प्रथम हुने रमेश सागरलाइ ४० हजार राशीकाे भानु पुरस्कार, द्वितीय हुने गीता पुडासैनीलाइ २० हजार राशीकाे मोती पुरस्कार र तृतीय हुने रामगोपाल आशुतोषलाइ १० हजार राशीकाे लक्ष्मी पुरस्कार प्रदान गरिएकाे थियाे । 

गीतकार, संगीतकार नरहरि प्रेमीले सञ्चालन गरेकाे कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । 

Loading...