सरकारका अधिकां‌श मन्त्री फेर्ने कसरतमा ओली र प्रचण्ड

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा उनीहरुबीच मन्त्रिहरुकाे हेरफेर गर्नेबारे छलफल भएकाे हाे ।

मन्त्रिपरिषद् पुनर्गठनका विषययमा आफूहरुबीच छलफल भएकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् । आजै विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्रीसँग आफूले कुराकानी गरेकाे स्वीकार गरे ।

प्रचण्डले भने, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाव गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसमा भर पर्छ । आज मात्रै प्रधानमन्त्रीसँग पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’

प्रचण्डले मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिए । ‘प्रधानमन्त्रीजीको म हेरिरहेको छु भन्ने भनाई रहेको छ । मैले यो तपाईकै मूल्यांकनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु, यो तपाईको कार्यक्षेत्र पनि उहाँकै हो ।’ प्रचण्डले भने ।

अर्को प्रसंगमा उनले संविधानले दिएको व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिइने पनि बताए । सरकारले अधिकार दिने र खास्ने भन्ने कुरा नहुने भन्दै प्रदेशलाई संविधानअनुसार अधिकार दिइनुपर्छ भन्ने आफ्नो भनाई रहेको प्रचण्डले बताए ।

पृथकतावादी आन्दोलनमा लागेको सिके राउतलाई मुल धारमा ल्याउन सरकारले गरेको सहमतिलाई अन्यथारुपमा लिन नहुने भन्दै प्रचण्डले हतारमा टिप्पणी गरिहाल्नु जरुरी नभएको बताए । राउतसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको पनि प्रचण्डले बताए ।

Loading...