व्यापारी अपहरण गर्न कुटपिट गरी टाउको फुटाइयो, प्रहरीसँग जम्काभेट भएपछि भागे अपहरणकारी

सप्तरी, २७ फागुन । सप्तरीमा एक व्यापारीलाई अज्ञात समूहले अपहरण गर्न कुटपिट गरी टाउको फुटाएका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ घर भई बोदे बसाइन–५ मा कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय मो. जियाउल हकलाई बाटोबाटै अपहरण गर्न खोज्ने समूहले उनलाई आक्रमण गरी घाइते बनाएको हो ।

अपहरणकारी समूहले उनलाई बाटोमा समातेर कुटपिट गरेको र गम्छाले हात बाँधेर डाकनेश्वरीको होटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेका थिए । त्यहीबेला भारतीय प्रहरीको गस्ती टोली भेटिएपछि अपहरणकारी भागेको र आफू जोगिएको उनले बताएका छन् ।

उनलाई अपहरण गरी भारततर्फ लैजान लागेका बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेको थियो । भारतीय प्रहरीले सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेका थिए ।

हक पसल बन्द भएपछि राति मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाब लगाएका ८÷१० जना अपहरणकारीले कुटपिट गरी अपहरण गरेको उनले बताएका छन् ।

कुटपिटबाट घाइते हकको पिठ्युभरी निलडाम लागेको छ भने टाउको फुटेको छ । घटनापछि हकका परिवारका सदस्यले अपहरणको प्रयास गर्नेलाई खोजेर कारवाही गर्न जिल्ला प्रहरी कार्यालय समक्ष माग गरेका छन् । अपहरणकारीको बारेमा अनुसन्धान भइरहेको र शंकास्पद डाकनेश्वरी–१ का तीनलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

Loading...