अत्यधिक हिमपात र चिसोले एकै बनमा ३८ भेडाबाख्रा मरे

हुम्ला, २७ फागुन । सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो ।

हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै गएको पीडित चुमा महताराले बताए । एकै पटक भेडाबाख्रा मर्दा समस्या भएको उनले बताए । एउटाको करीब रु १५ देखि २० हजारसम्म मूल्य पर्ने गरेको छ ।

लामो समयको हिमपात रोकिएसँगै बढेको चिसोले गर्दा बाख्रा पालनमा समस्या भएको उहाँले बताउनुभयो । चरन क्षेत्रमा हिउँ भएका कारण गोठ नजिकै चराउन लैजाने ल्याउने गर्दा रातिको चिसोले गोठमा नै भेडाबाख्रा मरिरहेका बताइएको छ ।

बाख्रापालक कार्कीकाअनुसार चिसोले खसीमा निमोनिया बढेको र चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिने जस्ता लक्षण देखिएका थिए । गोठभित्र धमाधम भेडाबाख्रा मर्न थालेपछि कृषकले स्थानीय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराएका छन् ।

Loading...