थापा संस्थागत विद्यालय शिक्षक युनियन अध्यक्षमा निर्वाचित

काठमाडौँ, २७ फागुन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् । यसैगरी प्रदेश उपाध्यक्षहरुमा रोहिणीरमण दवाडी (प्रदेश नं १), केशवराज पाठक (प्रदेश नं ३), उमेश सापकोटा (प्रदेश नं ५), धर्मदत्त भट्ट (सुदूरपश्चिम), गण्डकी, कर्णाली र प्रदेश नं २ को उपाध्यक्षहरुबाट प्रतिनिधित्व हुने युनियनले जनाएको छ ।

युनियनको महासचिवमा भोला चालिसे, उपमहासचिवमा भवानी पराजुली, अर्थउपमहासमा सुधीर झा, सचिवमा दीपक गौतम र रामकुमार राई चयन भएका छन् । समितिले संरक्षक समितिको अध्यक्षमा पूर्वअध्यक्ष मुकुन्द गौतम र सल्लाहकार समितिको प्रमुखमा इन्द्रराज भट्टराई चयन भएका छन ।

निजी विद्यालयमा कार्यरत शिक्षकहरुको सो सङ्गठन विसं २०६० मा स्थापना भएको हो । महाधिवेशनले बालबालिकाले अनिवार्य, निःशुल्क गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसारको राष्ट्रिय शिक्षा ऐन तत्काल ल्याउन माग गरेको छ ।

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको ट्रेड युनियन अधिकारको लागि शिक्षा ऐनमा व्यवस्था गर्न र हालै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा संस्थागत विद्यालयका शिक्षक कर्मचारी पनि समावेश गर्न माग गरेको छ । शिक्षामा बढ्दै गरेको निजीकरण र व्यापारीकरणलाई निस्तेज बनाउँदै संस्थागत विद्यालयलाई नियमनको दायरामा ल्याउने प्रावधान गर्न र अनुगमनलाई प्रभावकारी बनाउन पनि युनियनले माग गरेको छ ।

सामुदायिक विद्यालयका शिक्षकका लागि सरकारले तोकेको तलब भत्ता बराबरको सेवा सुविधा, नियुक्तिपत्र, विद्यालय व्यवस्थापन समितिमा शिक्षक कर्मचारीको प्रतिनिधित्व संस्थागत विद्यालयको हकमा पनि सुनिश्चित गर्न पनि सम्मेलनले माग गरेको महासचिव चालिसेले जानकारी दिए ।

Loading...