श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले राष्ट्रलाई समृद्धितर्फ लग्दैनः पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं, २५ फागुन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । अझै पनि शिक्षा जीवउपयोगी नभई शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले अभिभावक दिवसका अवसरमा आयोजना बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वमन्त्री पौडेलले विज्ञान र प्रविधिको उच्च विकास भएको आजको विश्वसँग प्रतिस्पर्धा गर्ने र आफ्नो समाजसँग पनि जोडिने शिक्षा अहिलेका बालबालिकालाई प्रदान गर्नुपर्ने बताए । उनले भने, “शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न सक्ने शिक्षा प्रणाली आजको आवश्यकता हो ।”

विद्यालयले विद्यार्थीहरुको सिर्जनशिलता र अभिभावकको भावना, आकांक्षा र चाहना र राष्ट्रको आवश्यकता पूरा गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्ने पूर्वमन्त्री पौडेलको भनाई थियो । अहिलेका अभिभावकहरु आफ्ना बालबालिकाको सिकाई प्रक्रियासँग जोडिन नसकेको उल्लेख गर्दै उनले अभिभावकहरुले ध्यान नदिँदा नै बालबालिकाको सिकाई पूर्ण नहुने र उनीहरु कुलतमा लाग्ने खतरा बढेको बताए । उनले भने, “बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकीय कर्तव्य पूरा हुँदैेन, विद्यालयमा शैक्षिक वातावरण छ कि छैन, आफ्नो बच्चाहरु के गरिरहेका छन्, उनीहरुको शैक्षिक सुधार के कस्तो भइरहेको छ भन्ने कुरा अभिभावले जानकारी लिनुपर्दछ । तबमात्र कलिला मस्तिष्कले सही बाटो पकड्न सक्दछ ।” उनले निजी विद्यालयहरुले पनि अरु व्यवसाय जस्तो नभई सार्वजनिक सेवा नै भएको उल्लेख गर्दै निजी विद्यालयको शिक्षा क्षेत्रमा सकारात्मक योगदान रहेको बताए । साहारा जस्तै देशमा धेरै स्वरोजगारमूलक विद्यालयहरु रहेको र तिनले आफ्नो ठाउँबाट राज्यको शैक्षिक दायित्वमा सहयोग पुर्याएको उनको टिप्पणी थियो ।

साहारा नेशनल स्कूलले शनिवार छैटौ अभिभावक दिवस तथा वार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले विविध गीत तथा नृत्यका साथै आआफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । सो अवसरमा साहाराले उत्कृष्ट वर्ष विद्यार्थी, उत्कृष्ट शिक्षक, साहारा आइकन, उत्कृष्ट कर्मचारीलार्इ पुरस्कृत पनि गरेको थियो । साहाराका विद्यार्थीले यसअघि विज्ञान प्रदर्शनी गरेको थियो । सोही प्रदर्शनीमा प्रस्तुत गरिएको ड्रोन अभिभावक दिवसका अवसरमा पनि विद्यार्थीहरुले उडाएका थिए । अभिभावक दिवसका अवसरमा अभिभावकहरुका तर्फबाट संगीता आचार्य पन्थी, विद्यार्थीका तर्फबाट पुरुषोत्तम शुक्ल लगायतले आफ्ना भनाइहरु राखेका थिए । 

Loading...