गोकर्ण माविले उचाल्यो राष्ट्रपति रनिङशिल्डको उपाधि

काठमाडौँ, २५ फागुन । गोकर्णेश्वर नगरपालिकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा ११ खेल खेलाइएको थियो ।

नगरपालिकाका ४० विद्यालयका खेलाडी सहभागी सो प्रतियोगितामा गोकर्ण माध्यमिक विद्यालय पहिलो भएको व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण ज्योतिले जानकारी दिए । प्रतियोगितामा नेपालय मावि दोस्रो र चामुण्डा माध्यमिक विद्यालय तेस्रो भए । समापन समारोहमा पूर्वमन्त्री एवं सांसद राजन केसीले खेलकूदलाई शिक्षण सिकाइको अनिवार्य क्रियाकलापका रुपमा अघि बढाइनुपर्ने बताए ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकामा खेलकूदलाई महत्व दिन फुटबल खेल मैदान निर्माण योजनालाई प्राथमिकतामा राखेको बताए । नगरपालिकाका सबै विद्यालयमा खेलकूदलाई अनिवार्य शैक्षिक क्रियाकलापका रुपमा समावेश गर्न लागिएको उनको भनाइ थियो । उपप्रमुख शान्ति नेपालले नियमित खेलकूदको अभ्यासले विद्यार्थीको मानसिक विकासमा सहयोग पुग्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

Loading...