देशभरबाट मात्र ६ स्थानीय तह सम्मानित

काठमाडौँ, २३ फागुन । राष्ट्रिय महिला आयोगले ६ ओटा स्थानीय तहलाई सम्मान गरेको छ । महिला हक, अधिकारको संरक्षण गर्दै महिला हिंसा न्यूनीकरण गर्न महत्वपूर्ण योगदान गरेवापत ६ स्थानीय तह सम्मानित भएका हुन् ।

राष्ट्रिय महिला आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा तिनीहरुलाई सम्मान गरेको हो ।

सम्मान पाउने स्थानीय तहहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ र नागार्जुन नगरपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका तथा ललितपुरको कोन्ज्योसोम गाउँपालिका परेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ती नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेकी थिइन् । उक्त अवसरमा पुनः स्थापना तथा विकास मञ्च (मोरङ), नेपाल स्पाइरल इञ्जुरी खेलकूद सङ्घ (काठमाडौँ) र बौद्धिक अपाङ्गता अभिभावक सङ्घ (चितवन)लाई समेत रु १५ हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

विसं २०५८ फागुन २३ मा स्थापना आयोगलाई नेपालको संविधान २०७२ ले संवैधानिक आयोगमा रुपान्तरण गरेको थियो ।आयोग विशेषगरी महिला हिंसा र घरेलु हिंसा विरुद्ध केन्द्रित रहेको छ ।

Loading...