सिके राउतलाई छोडन आदेश, रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा

काठमाडौं, २३ फागुन । नेपालबाट तराई अलग बनाएर छुट्टै देश बनाउने अभियानमा लागेको आरोपमा थुनामा रहेको सीके राउतलाई सर्वोच्च अदालतले एकाएक रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी गरेको फैसला उल्ट्याउँदै सर्वोच्चले रिहा गरेर सामान्य तारेखमा राख्न आदेश दिएको हो ।

ठूलो मत पाएर विजयी भएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको अदालतले राउतलाई रिहा गर्न आदेश दिएपछि राजनीतिक बृतमा यसका बारेमा चर्चा बढेको छ । रेशमलाई जन्मकैदको फैसला हुँदा टिकापुर घटनामै जोडिएका अर्का नेता लक्ष्मण थारु भने जेलमुक्त भएका छन् ।

यसैक्रममा सर्वोच्च अदालतले बिहीबार सिके राउतलाई रिहा गर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई सामान्य तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा अपराधसँग सम्बन्धित प्रमाण फेला नपरेकाकाले उनलाई पुर्नपक्ष थुनामा राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ ।

उनी राज्य विरुद्ध संगठित कसुर गरेको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएका थिए । राउत अहिले काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका छन् ।

राउतले पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश कानुन संवत नरहेको भन्दै सर्वोच्चमा यही फागुन १५ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

पछिल्लोपटक असोज २१ गते पक्राउ गरेका राउतलाई रौतहट जिल्ला अदालतले मंसिर २० गते थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Loading...