झिसमिसेमै प्रहरीले विप्लवको गाउँ पसेर यसरी मच्चायो आतंक, महिला उत्रिए प्रतिकारमा

काठमाडौं । कपिलवस्तुको शिवगढीमा प्रहरीले एकाबिहानै छापा मारेपछि सो क्षेत्रको जनजीवन त्रसित बनेको छ । बिहान झिसमिसेमै प्रहरी शिवगढीका घरघरमा पसेर खानतलासी गरेपछि आतंक फैलिएको हो ।

प्रहरीले एकाबिहानै आएर त्रास फैलाएपछि स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोखेका थिए । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको थियो ।

शिवगढी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको गाउँ हो । यसअघि पनि सोही ठाउँमा रहेको विप्लवको घरमा प्रहरीले उनका विरुद्ध पक्राउ पुर्जी टाँसेको थियो । यसपटक शिवगढीमा नेकपाले तालिम केन्द्र सञ्चालन गरेको भन्दै छापा मारेको बताइएको छ । बिहीबार बिहानै प्रहरीले छापा मारेर त्यहाँ एक जना स्थानीयलाई सुतेकै ठाउँबाट समातेको बुझिएको छ । स्थानीयले प्रहरीले गोली समेत प्रहार गरेको बताएका छन् ।

प्रहरीले पछिल्लो समय विप्लव नेतृत्वको नेकपा विरुद्ध कडा रवैया अपनाएको देखिन्छ । देशभर थुप्रै कार्यकर्ताहरु गिरफ्तार गर्नुका साथै नेकपाको प्रभाव रहेका गाउँमा युद्धकालीन शैलीमै ठूलो संख्यामा प्रहरी परिचालन गरेर छापा मार्ने पनि गरिरहेको छ । नेकपाले वर्तमान संसदीय व्यवस्थाबाट नेपाली जनताले अधिकार नपाउने र राजनीतिक व्यवस्था नबदलिने भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन उठान गर्नुपर्ने वकालत गर्दै आएको छ । साथै सो पार्टीले आफ्नो प्रभाव रहेका क्षेत्रमा फरक सत्ताको अभ्यास पनि गर्दै आएको छ । सोही क्रममा यसअघि नेकपाले ‘एनसेल लगायतका केही भ्रष्टहरुमाथि कारवाही’ गरेको जनाएको थियो ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहानैदेखि हतियारसहित प्रहरी स्थानीयको घर घरमा पस्न खोजेपछि स्थानीयवासी विरोधमा उत्रिएका थिए । सो ठाउँका महिलाहरुले प्रहरीको व्यवहारप्रति आक्रोश पोखेका थिए । सो क्रममा केहीबेर झडप समेत भएको बताइएको छ । स्थानीयबासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । स्थानीयवासीले गरेको प्रतिकारमा दुई जना प्रहरी जवान घाइते भएको बताईएको छ । घाइते हुनेमा प्रहरी जवान अमर वली र पुतली चौधरी रहेको बुझिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले झडप सामान्य भएको र सो क्रममा प्रहरी जवान वली र चौधरी घाइते भएको बताए ।

विशेष सुराकीबाट सूचना पाएको भन्दै प्रहरीले बिहीबार बिहान जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित यादव चन्दको घरमा सर्च थालेको थियो । यादव चन्द विप्लवका भतिजा भएको जनाइएको छ । सो क्रममा प्रहरीले विभिन्न हतियार नियन्त्रमा लिएको दावी गरेको छ ।

यादव चन्दको घरबाट प्रहरीले एसएमजी, त्यसमा लाग्ने गोली, त्यसको म्यागजीन ३ थान बरामद भएको जनाएको छ । सोहि क्रममा प्रहरीको गोली लागेर नेकपाका एक जना कार्यकर्ता घाइते भएका छन् । प्रहरीले चलाएको गोली स्थानीय दुर्गा बहादुर रोकाको बायाँ खुट्टामा लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शिवगढी दाङसँग सीमा जोडिएको स्थान हो । यहाँ विप्लवका सबै परिवारको बसोबास रहँदै आएको छ । नेकपाको आधार इलाकाका रुपमा हेरिएको शिवगढीमा जनयुद्ध बेला पनि यो गाउँमा १४ जना भन्दा धेरै शहिद भएका थिए । तराइका जिल्लाहरु माओवादीको प्रभाव कम भएको मानिए पनि शिवराजलाई तत्कालीन माओवादीले ‘मिनी रोल्पा’ भन्दै आएको थियो । प्रहरीले अपशेसन बारेमा विस्तृतमा खुलाउन चाहेको छैन ।

Loading...