रोल्पामा अज्ञात समूहद्वारा आगजनी

रोल्पा, २३ फागुन । त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ । यसअघि गत बुधबार राति सोही गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले तोडफोडको प्रयास गरेको थियो । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको बा२झ ३६५२ नं जीपको सिसा फुटेको छ ।

गङ्गादेव गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको भाडाको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट सो गाउँपालिकाकोे भे१च २७८५ नंको बोलेरो जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको उक्त जीप भाडामा लिएर प्रयोग गरिरहेको गाउँपालिकाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

Loading...