पशुपतिमा श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका साधु

काठमाडौँ, २३ फागुन । महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ ।

साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए ।

गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ वर्गका नागाबाबालाई १ हजार ३०० देखि १ हजार ८०० सम्म दक्षिणा दिइएको साधु सन्त बिदाइ समिति संयोजक हरिप्रसाद जोशीले राससलाई जानकारी दिए। छ वर्गका ३०० नागा बाबालाई बिदाइ गरिएको उनले बताए ।

अन्य महन्तमा मठाधीशलाई रु ९५१, सामान्य सन्तलाई रु ५५१ र सन्तको भेषधारीलाई रु ३५१ दक्षिणा दिइएको हो । यस्ता सात हजारसहित जम्मा सात हजार ३०० सन्तलाई बिदाइ गरिएको हो । संस्थानले साधुसन्त बिदाइका लागि रु १९ लाख बजेट छुट्याएको थियो । कोषले चार हजार ५०० सन्तलाई बिदाइ गरेको छ । कोषले पाँच वर्गमा विभाजन गरी साधुलाई बिदाइ गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । साधुसन्त बिदाइकै लागि कोषले रु १३ लाख बजेट छुट्याएको जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर, पशुपतिस्थित निर्मल अखडा, भष्मेश्वर, उमाकुण्ड, अन्नपूर्ण भण्डार, कालमोचनघाटको राममन्दिर, पुडाक्षी अखडा, सन्न्यासी अखडा र गोरखनाथ अखडामा साधुसन्तलाई राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि भारतवर्षका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।

Loading...