नेपाली भूमीमै आएर गाँजाखेती गराउँदै भारतीय तस्कर

चितवन, २२ फागुन । नेपालमा आएर भारतीय तस्करहरुले गाँजा खेती गराउने गरेको खुलासा भएको छ । चितवनको पहाडी भागमा रहेका वासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो ।

राप्ती नगरपालिकाको वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीयले स्थानीयलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीयले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरूसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । उनका अनुसार निरुत्साहित गर्न प्रयास गरेको भए पनि सकिएको छैन । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भने “गाउँगाउँमा कहिलेकाहीँ तस्कर–तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताए ।

स्थानीयवासीले थोरै पैसा लिएर काम गर्ने बुझिएको छ । यद्यपि ठूलो क्षेत्रफलमा गाँजा लगाउने गरिएकाले लाखाँैको कारोवार हुने गरेको स्थानीयवासी बताउँछन् । सो क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ । शहरी क्षेत्रबाट टाढा भएकाले प्रहरी प्रशासनको ध्यान पुग्न नसक्ने भएकाले भारतीय तस्करले स्थानीयवासी परिचालन गर्न सफल भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय–समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताए । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उनले बताए ।

राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीयवासी परिचालन गरी गाँजाखेती गर्दै आएको बुझिन आएको बताए ।

सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङले बताए । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उनले बताए ।

Loading...