पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना, प्याराग्लाइडिङ बन्द गर्ने पोखरा महानगरको घोषणा

कास्की, २१ फागुन । सराङकोटबाट उडेका प्याराग्लाइडिङका पाइलटको ज्यान गएको छ । सराङकोटबाट बिहान ११ः४५ बजेतिर उडान भरेका रसियन नागरिक डिमी डिभिल उडेको केही समयपछि नै दुर्घटनामा परेका हुन।

दुर्घटनामा परेर घाइते भएका डिमी डिभिललाई उपचारको लागि पोखराकै मेट्रोसिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनमा परी रोमानियाका एक पाइलटले ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी फेवातालमा खसेका हुन्।

सोमबार मंगलबार पनि पोखराको आकाशमा पोल्याण्डका जानुज कारोल र रसियाका यागुडिउ यलगिज घाइते भएका थिए। जानुज कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा नाङ्गो बिजुलीको तारमा परेका थिए भने यलगिज मादी गाउँपालिकाको छाचोकमा चिलाउनेको रुखमा अड्किएका थिए।

रुसको हवाई खेल महासंघको नाममा यतिबेला पोखरामा ‘२०१९ हिमालयन कप’ भन्ने प्याराग्लाइडिङको प्रतियोगिता भइरहेको छ। सो प्रतियोगितामा भाग लिन रुसलगायत देशका करिब ३ सय पाइलटहरु पोखरामा छन्। यता, पोखराको आकासमा अवैध उडान भइरहेको भन्दै पोखरा महानगरपालिकाले बुधबारदेखि प्याराग्लाइडिङ उडान नै बन्द गर्ने घोषणा गरेको छ।

Loading...