विकासका नाममा उपत्यकाका प्राचीन सम्पदा नास्ने काम भएको भन्दै उपमेयरकै चेतावनी

काठमाडौं । काठमाडौं दक्षिण एसियाकै पुरानो सहर हो । काठमाडौं उपत्यकाभित्र ७ वटा विश्वसम्पदा सूचीमा सूचीकृत हेरिटेज साइटहरु पनि रहेका छन् । मन्दिरै मन्दिरको सहरका नाममा प्रख्यात लिच्छवी र मल्लकालीन सम्पदाले भरिएको यो पुरानो सहरको उचित संरक्षण भने हुन सकेको छैन । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका पदाधिकारीले नै उपत्यकामा प्राचीन सम्पदा संरक्षण गर्नुपर्ने कुरामा चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उपत्यकाका प्राचीन सम्पदा नासिदै गएको र त्यसको उचित संरक्षण गर्न नसकेकोमा चिन्ता व्यक्त गरेकी छन् । काठमाडौंमा आइतबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उपत्यकामा भइरहेका विकासका कामकाजमा यहाँको सम्पदा जोगाउने कुरा नसोचिएको भन्दै त्यसमा आपत्ती प्रकट समेत गरिन ।

देजमो–नेपाल महानगर समितिको आयोजनामा महानगरव्यापी नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उपमेयर खड्गीले काठमाडौं उपत्यकाकाका मौलिक सम्पदा बचाउन आफू अग्रसर रहने प्रतिबद्धता जनाइन ।

सो क्रममा उनले मल्लकालीन इतिहास बोकेको रानीपोखरीको पुनर्निर्माण कार्यको जिम्मा महानगरपालिकाले लिनुपर्नेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको भन्दै त्यसमा आपत्ती प्रकट गरिन । उनले संघीयता लागु भएर पनि संघीय सरकारले स्थानीय निकायलाई जिम्मेवारी नदिएको बताइन । नागरिकको जनगुनासोलाई आफुले सकेसम्म सम्वोधन गर्ने पनि बचन दिइन ।

रानी पोखरीलाई आधुनिक स्वरुप दिई पानीको फोहोरा बनाउने काठमाडौं महानगरपालिकाको योजना विवाद बीच लामो समय रोकिएको थियो । काठमाडौं नगरवासीको चासो र दवावपछि अहिले रानीपोखरीलाई ३५० वर्ष पुरानै मल्लकालीन शैलीमा बनाइने भएको छ । रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरु पनि व्यवस्थित बनाउने योजना छ ।

रानीपोखरी पुनर्निर्माण गर्नका लागि ७ सदस्यीय निर्माण समिति गठन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिको ३०औं कार्यपालिका बैठकले अजयरत्न स्थापितको संयोजक्त्वमा रानीपोखरी पुननिर्माण उपभोक्ता समिति गठन गरेको छ । यसैगरी समितिमा रानीपोखरीसँग जोडिएको वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं २८ का अध्यक्ष भाइराम खड्गी सम्मिलित अनुगमन तथा समन्वय समिति समेत गठन गरेको छ ।

उमेयर खड्गीले महानगरपालिकाभित्र पनि चर्को राजनीति भएकोतर्फ संकेत गरिन । उनले महानगरपालिकामा आफू लगायत जनप्रतिनिधिलाई अधिकारविहीन बनाउने प्रयत्न गरिएको भन्दै त्यसका बारेमा सबैलाई बुझ्न आग्रह गरिन ।

Loading...