मजदुरका घाँटी रेटेर महल ठड्याउने र नागरिकका मुखमा ताला झुन्ड्याउनेविरुद्ध राजधानीमा यस्तो खबरदारी

काठमाडौं । प्रेसमाथि नियन्त्रण गर्ने कानुन र सञ्चारकर्मीको श्रम शोषण गर्ने मिडिया मालिकका विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालको अगुवाईमा भएको प्रदर्शनमा सयौ पत्रकार तथा सञ्चारकर्मी, मजदुरहरु सहभागी भएका छन् ।

नयाँ बानेश्वर चोकबाट सुरु भएर माइतीघर मण्डलामा पुगेको ¥यालीपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै पत्रकारहरुले नेपालमा श्रमजीवी जनताको जीवन निकै कष्टकर भएको बताए । श्रमजीवी नागरिकलाई राज्यका कानुन र तिनै कानुनको साहारामा टेकेर विभिन्न प्रतिष्ठानका मालिकहरुले चर्को श्रमको शोषण गरिरहेको भन्दै त्यसका विरुद्ध सम्पूर्ण श्रमजीवी नागरिक, पेशाकर्मी, व्यवसायीहरुलाई आन्दोलनमा उत्रन आह्वान गरे । राज्यले कानुन बनाएर नागरिकको बोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने र त्यसकै आडमा मालिकहरु श्रमिक जनतामाथि चर्को श्रम शोषण गरिरहेको कोणसभामा बोल्ने वक्ताहरुको भनाई थियो ।

कोणसभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले नेपालका ठूला मिडिया हाउसमा चर्को श्रम शोषण गरिरहेको बताए । मिडिया मालिकहरु कुन ऐन र कुन विधि प्रयोग गरेर पत्रकार, कर्मचारी, मजदुरहरुलाई कमभन्दा कम तलब दिएर काममा लगाउन सकिन्छ भनेर लागेको भन्दै सधैभरि श्रम शोषण गरेर टिक्छु भनेर नसोच्न खबरदारी गरे । उनले श्रमजीवी पत्रकारहरुको पसिनामा महल ठड्याइरहने सपना अब धेरै समय नचल्ने भन्दै श्रमको उचित पारिश्रमिक लागु गराउन सरकारसँग माग गरे । उनले सरकारका मन्त्री र उच्च ओहोदाका कर्मचारीले पनि भित्रभित्रै ठूला मिडिया मालिकहरुलाई संरक्षण गरेको आरोप लगाउँदै श्रमजीवी ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने गरी ल्याएका सबै कानुनहरु खारेज गर्न माग गर्दै जनताको जान्न र बोल्न पाउने अधिकार कुल्चेर आफ्नो राज कायम गर्ने सपना नदेख्न उनले चेतावनी दिए । उनले मिडियाका मजदुर श्रमजीवीहरुको श्रम यसरी नै शोषण गरिरहे मिडिया मालिकहरुका अन्य धन्दाहरुको भण्डाफोर गर्ने चेतावनी दिए । उनले ठूला मिडिया मालिकहरुले मिडियाको नाउँमा गरिरहेको अनेक धन्दातर्फ संकेत गर्दै भने, ‘हामी कान्तिपूर, एभिन्युज लगायतका सबै ठूला मिडिया मालिकहरुलाई भन्न चाहन्छौं कति दिन श्रमिकहरुलाई कुल्चेर महल बनाउछौं । यस्तै हो भने हामी तिमीहरुले मिडियाको कभरमा रहेर गरेको धन्दाहरुको पर्दाफास गर्न बाध्य हुनेछौं ।” उनले मजदुरका घाँटी कुल्चेर महल ठड्याउनेहरु र नागरिकका मुखमा कानुनका ताला लगाउनेहरु एउटै चरित्रकाे भएकाे भन्दै सधैभरि नागरिक चुप लागेर नबस्ने बताए ।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष डिल्लीराज राउतले सरकार पत्रकारको स्वतन्त्रताको विरोधमा रहेको भन्दै त्यसका विरोधमा आफुहरु निरन्तर आन्दोलित भइरहने बताए । उनले सरकारले प्रेस स्वतन्त्रता अभ्यासका लागि र ग्रामीण जनताको सूचनामाथिको पहुँच बढाउन सहयोग पु¥याउने गरी स्थापित साना मिडियामाथि सरकारले गिद्दे नजर लगाएको भन्दै तिनले राजनीतिक परिवर्तनमा खेलेको भूमिका नबिर्सन आग्रह गरे । उनले सरकारमा जानेहरुले आफैले गरेको राजनीतिक संघर्ष भुलेर श्रमजीवी जनताकातर्फबाट हुने आन्दोलनलाई नियन्त्रण गर्न खोजिरहेको आरोप लगाए । उनले समृद्धिको सपना ढ्वाङ मात्र फुकेर नहुने भन्दै जनतालाई खुसी बनाउन सके, श्रमजीवीको श्रमको उचित पारिश्रमिक दिलाउन सके त्यसबाट केही परिवर्तन हुनसक्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले वर्तमान सरकारले पत्रकारमाथि गिद्धेनजर लगाएर प्रेसलाई नियन्त्रण गर्ने गरी विभिन्न कानुन लाद्ने गरेको बताए । त्यसका विरुद्ध श्रमजीवी पत्रकार, श्रमजीवी मजदुर कर्मचारीहरु सबै एक ढिक्का भएर संघर्षमा उत्रनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले संघर्षबाट मात्र अधिकार स्थापित हुने बताए । एक दिन श्रमजीवी पत्रकारहरुको माग सुन्न राज्य र मिडिया मालिक बाध्य हुने दावी पनि गरे ।

त्यसैगरी अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर इकाइ समितिका अध्यक्ष श्रीराम ढकालले कान्तिपुरमा श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा लागु नहुँदासम्म आफूहरुले आन्दोलन जारी राख्ने बताए । त्यस्तै कान्तिपुर टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष निर्मला बस्नेतले श्रमजीवी पत्रकारहरुको हितमा भएको आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए ।

कान्तिपुर पव्लिकेसन कर्मचारी युनियनका अध्यक्ष ढकप्रसाद खतिवडाले मिडियाले अरुको कुरा लेख्ने तर मिडियाबाट मिडियाकर्मी आफै पीडित भएको कुरा कि नलेख्ने भन्दै पत्रकारहरुप्रति नै प्रश्न उठाए ।

कोणसभालाई क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भूसाल, कान्तिपुर कर्मचारी संघर्ष समितिका अध्यक्ष अर्जुन पाठक, राजधानी दैनिक इकाई अध्यक्ष शिव गौतम लगायतले पनि संबोधन गरेका थिए । क्रान्तिकारी पत्रकार संगठनले आइतबार मात्रै विभिन्न मागहरुसहित सूचना विभागका महानिर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

 

Loading...