दार्चुला जीप दुर्घटनाका ११ जनाकै शव सनाखत

कैलाली, १८ फागुन । सुदूरपश्चिमको दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ । शुक्रबार राति दार्चुलाको राताकाठा भन्ने स्थानमा जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको थियो ।

दार्चुलाको सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठामा पुगेपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा १ जना चालक मात्र बाँच्न सफल भएका थिए । उनी पनि गम्भीर घाइते छन् ।

जीप दुर्घटनामा परी मुत्यु हुनेमा दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामी रहेका छन् । त्यस्तै दुहूँ गाउँपालिका– १ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धना बम र ५३ वर्षीया मानमती भट्टको पनि दुर्घटनामा परी ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतका अनुसार दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको पनि शव पहिचान भएको छ ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।

Loading...