वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गरिने

काठमाडौँ, १७ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

आजदेखि यहाँ शुरु भएको ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ को उद्घाटन कार्यक्रममा बस्नेतले वन क्षेत्रको पूर्ण क्षमतामा बहुउपयोग गर्न मन्त्रालयले आवश्यक कानून र नीतिलाई समयसापेक्ष परिमार्जन गर्न लागेको जानकारी गराए ।

मन्त्रालयले जडीबुटी प्रजातिको पहिचान गरी जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्न नीतिगत र संरचनागत काम गरिरहेको मन्त्री बस्नेतको भनाइ थियो ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको आयोजनामा गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले शुरु भएको जडीबुटी मेला आइतबारसम्म चल्नेछ । काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा आयोजित मेलामा जडीबुटीको जानकारी दिने ५० वटा कक्ष राखिएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालमा उत्पादन हुने स्वदेशी कच्चा पदार्थ जडीबुटी र त्यसबाट निर्मित वस्तुको प्रदर्शनी राखिएको जानकारी गराए । साथै उनले जडीबुटी व्यवसायमा भोग्नुपरेको चुनौतीका बारेमा जानकारी गराउँदै समाधानका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजित मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तक्र्रियासमेत गरिने आयोजकले जनाएको छ ।

Loading...