तीन जिशिअसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना जिशिअसहित सात जना विरुद्ध मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्द्र अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले धनुषाकै विभिन्न समयका तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा तत्कालीन जिशिअ शंकरबहादुर गौतम, तत्कालीन जिशिअ राकेश श्रीवास्तव र वर्तमान जिशिअ उपेन्द्र मण्डल रहेका छन् । त्यस्तै अख्तियारले समितिका अध्यक्ष बिल्टु मण्डल, प्रधानाध्यापक आनन्दकुमार मण्डल, लेखापालद्वय लालबाबु मिश्र र प्रल्हाद भुजेलका विरुद्ध पनि मुद्दा दायर गरेको छ । 

अख्तियारले दायर गरेको मुद्दामा व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसँग १० लाख ३१ हजार रुपियाँका दरले बिगो मागदाबी गरिएको छ । जिशिअहरु श्रीवास्तव र गौतमसँग ३ लाख २ हजार रुपियाँ बिगो कायम गरिएको छ । अर्का जिशिअ मण्डलले ७ लाख ८ हजार रुपियाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

धनुषाको रामजानकी राष्ट्रिय प्रावि जनकपुर नपा– ४ सरस्वती नगर र जानकी गुरुकुल प्रा.वि. जनकपुर न.पा– ४ दुबै विद्यालयका एकै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेतको मिलोमतोमा विद्यालयको छात्रवृतिमा अनियमितता गरेको अख्तियारको दावी छ । आ.व. २०६८।६९ देखि आव २०६९।७० सम्मको छात्रवृत्ति र पाठ्यपुस्तक जस्ता विभिन्न शीर्षकमा सरकारी अनुदानको रुपमा प्राप्त हुने ठूलो रकम उनीहरुले हिनामिना गरेको अख्तियारले जनाएको छ । त्यसरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने कार्य गरेको भन्दै उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको विशेष अदालतमा दायर मुद्दामा उल्लेख गरिएको छ । 

एउटै व्यवस्थापन समिति र प्रधानाध्यापकसहितको टोलीले मिलेमतो गरी दुई झोले विद्यालय खडा गरेर त्यसको नाममा बजेट निकासा गरेको अख्तियारले जनाएको छ । उनीहरुले जनकपुर नगरपालिका–४ मा रामजानकी राष्ट्रिय प्रावि र जानकी गुरुकुल प्राविको नाममा फर्जी विद्यालय खडा गरेर उक्त रकम दुरुपयोग गरेका हुन् । यी दुबै विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापक एउटै रहेका छन् । 

यसैबीच अख्तियारले मुद्दा दायर गरेपछि काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतम पनि निलम्बनमा परेका छन् । उनले धनुषाको जिशिअ हुँदा रकम दुरुपयोग गरेको अख्तियारको दावी छ ।  

Loading...