काठमाडौँको आकाशमा साहाराका विद्यार्थीले यसरी आफ्नो ड्रोन उडाए (फोटो फिचर)

काठमाडौं, १७ फागुन । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो ।

बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको सबैको आकर्षण बनेको छ । ड्रोनमा विभिन्न खालका प्रविधि तथा सामानहरु जोडेर दैनिक जीवनका कामकाजदेखि उच्च सैन्य कार्यमा समेत प्रयोग गर्न थालिएको छ । सोही प्रविधिलाई साहाराका विद्यार्थीले प्रस्तुत गरेका हुन् । प्रदर्शनीका क्रममा उनीहरुले अवसर पाए नेपालमै व्यवसायिक रुपमा ड्रोन निर्माण गर्न सकिने बताए ।

त्यसैगरी साहाराका विद्यार्थीहरुले एप कन्ट्रोल रोबोट र लाइन फ्लोइङ रोबोट पनि बनाएका छन् । यो रोबोटलाई मानिसले दैनिक जीवनका काममा प्रयोग गर्न सकिने उनीहरु बताउँछन् । पछिल्लो समय यस्ता रोबोटहरु रेस्टुरेन्टमा ग्राहकलाई सेवा गर्ने, ठूला ठूला तौलका सामानहरु उचाल्ने जस्ता कामकाजमा पनि प्रयोग गरिन थालिएका छन् ।

शुक्रबार गरिएको विज्ञान प्रदर्शनी राष्ट्रििय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले उदघाटन गरेका हुन् । विद्यार्थीहरुले नै बनाएको विद्यालयको भवनको स्यान्ड मोडेललाई बाँधिएको रिबन काटेर परीक्षा नियन्त्रक शर्माले विज्ञान प्रदर्शनीको उदघाटन गरेका हुन् । त्यसपछि मन्तव्य राख्दै शर्माले विद्यार्थीलाई विज्ञान र प्रविधिको ज्ञान तल्लो तहदेखि नै दिइनु राम्रो भएको बताए । साना साना बालबालिकालाई उच्च प्रविधिको ज्ञान दिएर साहाराले शिक्षामा सह्रानीय काम गरेको उनको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल देबेन्द्र बिक्रम भट्टराईले शिक्षालाई प्रविधिसँग जोडन तथा ब्यवहारिक शिक्षालाइ प्राथमिकता दिन यो प्रदर्शनी गरिएको बताए । यसले विद्यार्थीको सिकाइलाई अझ मजबुत र व्यवहारिक बनाउने उनले विश्वास व्यक्त गरे । साहाराले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका अतिरिक्त फुटबल, मार्सल आर्ट, नृत्य, गायन, बाद्यवादनका कक्षाहरु पनि विद्यालयमै सञ्चालन गर्दै आएको समेत उनले जानकारी दिए ।

प्रिन्सिपल भट्टराईले साहारामा अन्तरक्रियात्मक विधिद्वारा विद्यार्थीको सिकाई प्रक्रियालाई व्यवस्थित गर्ने गरेको, विभिन्न प्रयोगात्मक कक्षाहरुमा जोड गर्दै ती प्रोजेक्टको प्रस्तुतिकरण गराउने गरेको बताए । त्यसले विद्यार्थीमा नेतृत्व क्षमता बढाउनुका साथै सिकाई प्रक्रिया पनि मजबुत बनाउने गरेको उनले आफ्नो अनुभव सुनाए ।

साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका छन् । जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन् ।

 

Loading...