साहारामा अत्याधुनिक ड्रोन, दैनिक जीवनमा सहयोग गर्ने रोबोटसहित विज्ञान प्रदर्शनी

काठमाडौं, १७ फागुन । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले विज्ञान प्रदर्शनी गर्ने भएको छ । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले विद्यार्थीहरुमा विज्ञान प्रविधिप्रति बढ्दो आकर्षणलाई सबैका सामु प्रस्तुत गर्न यो प्रदर्शनी कार्यक्रम गर्न लागेको जनाएको छ ।

विज्ञान र प्रविधिका क्षेत्रमा वर्तमान विश्वमा निकै चर्चा भइरहेको ड्रोन र रोबोटदेखि दैनिक जीवनमा प्रयोग हुने थुप्रै प्रविधिहरु प्रदर्शनीमा राखिने साहारा स्कूलका प्रिन्सिपल देवेन्द्र विक्रम भट्टराईले जानकारी दिएका छन् । शिक्षालाई प्रविधिसँग जोडन तथा विद्यार्थीको सिकाइलाई अझ मजबुत र व्यवहारिक बनाउन विद्यालयले प्रयास गर्दै आएको उनले बताए ।

साहाराले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका अतिरिक्त फुटबल, मार्सल आर्ट, नृत्य, गायन, बाद्यवादनका कक्षाहरु पनि विद्यालयमै सञ्चालन गर्दै आएको छ । प्रिन्सिपल भट्टराई अन्तरक्रियात्मक विधिद्वारा विद्यार्थीको सिकाई प्रक्रियालाई व्यवस्थित गर्ने गरेको, विभिन्न प्रयोगात्मक कक्षाहरुमा जोड गर्दै ती प्रोजेक्टको प्रस्तुतिकरण गराउने गरेको बताए । त्यसले विद्यार्थीमा नेतृत्व क्षमता बढाउनुका साथै सिकाई प्रक्रिया पनि मजबुत बनाउने गरेको उनले आफ्नो अनुभव सुनाए ।

साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका छन् । जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन् ।

प्रदर्शनीको उद्घाटन राष्ट्रिय परीक्षा वोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता बिष्णुप्रसाद मिश्रले गर्ने बताइएको छ ।

Loading...